जनकपुरधाम, १४ कात्तिक ।
जनकपुरधाम उपमहानगरपालिकाको राजनीतिक नेतृत्वले फोहोर व्यवस्थापनमा हेलचेक्रयाइँ गरेको भन्दै आक्रोशित जनप्रतिनिधिहरूले नगरप्रमुख लालकिशोरविरुद्ध खनिएका छन् ।
उनीहरूले दीपावली र छठजस्ता चाडबाडका बेलासमेत फोहोर व्यवस्थापन कार्य नगरिए नगरप्रमुख साहविरुद्ध जस्तोसुकै कदम चाल्न पछि नपर्ने बताए ।
आक्रोशित जनप्रतिनिधिहरू आइतबार बिहान जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख साहको घरअगाडि फोहोर थुपार्दै मेयर साहविरुद्ध सडकमा उत्रिएका हुन् ।
नगरप्रमुख साह अहिले जनकपुरधाममा छैनन् ।
वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले जनकपुरधाम उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहोर व्यवस्थापनलाई बेवास्ता गरिए जगरप्रमुख साहका विरुद्धमा जस्तोसुकै कदम उठाउन सक्ने चेतावनी दिए ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष शत्रुधन साह, वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंह र वडा नम्बर ७ का अध्यक्ष जानकीराम लगायतका वडाध्यक्षहरू फोहोर व्यवस्थापनको माग गर्दै नगरप्रमुख साहको घरअगाडि धर्ना दिएका थिए ।
नगरप्रमुख साहको घर अगाडि फोहोर फ्याक्न नदिएपछि वडाअध्यक्षहरूले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयअगाडिको बाटो जाम गरेर धर्नामा बसेका थिए ।
फोहोर व्यवस्थापनका लागि नगरप्रमुख साहले चासो नदेखाएका, फोहोर व्यवस्थापनका लागि उपमहानगरले ट्याक्टरसम्म उपलब्ध नगराएको र जनताका समस्याप्रति ध्यान नदिई भ्रष्टाचारमा केन्द्रित भएको आरोप वडाअध्यक्षहरूले लगाएका छन् ।
जनकपुरधाम उपमहानगरका बासिन्दालाई आफ्ना घर सरसफाइक्रममा सडकछेउमा फोहोर थुपानुपर्ने बाध्यता छ । सडकछेउका फोहोर उपमहानगरले व्यवस्थापन नगर्दा विरोधस्वरुप नगरप्रमुखको घरअगाडि नै फोहोर थुपारेको वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहले बताए ।
