जनकपुरधाम, २६ कात्तिक ।
लेखपढ गरेर गरिबी, अभाव र पछ्यौपटनले ग्रस्त आफ्नै गाउँठाउँमा काम गर्ने वा अन्यत्र सुविधासम्पन्न स्थानमा पुग्ने भन्ने प्रश्नको आदर्श उत्तर सही र व्यवहारपरक नहुन सक्छ ।
रगत तथा क्यान्सर रोग विशेषज्ञ डा.अजय झासँगै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पहिलो ब्याचमा एमबिबिएस सकेका ३० जना डाक्टरमध्ये सातजनामात्र स्वदेशमा छन् । अरू २३ जना डाक्टर स्तरीय जीवन र सुरक्षित भविष्यको खोजीमा अमेरिका, बेलायत, अष्ट्रेलिया आदि देशमा पुगे ।
मणिपालबाट एमडी अनि पिजिआइ चण्डीगढबाट डाक्टरेट अफ मेडिसिन उपाधि पाएका डा.अजय अहिले जनकपुरधाममा ‘घाटेवैद्य’ बनेका छन् । तर, उनको विशेषज्ञता र अनुभवबाट क्यान्सरजस्तो रोग उपचारका लागि प्रदेश २ मा कुनै सरकारी वा अन्य प्रतिष्ठान साधनस्रोत सम्पन्न छैनन् । र, उनी आफ्नो निजी क्लिनिकमा जीवनमरणको दोसाँधमा पुगेका क्कयान्सरग्रस्त रोगीलाई पर्खिरहेका छन् । अन्तिममै भए पनि उपचार गर्न ।
उनले पछिल्लोपटक नेपाल अर्बुद रोग संस्थाद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालमा राजनीति हाबी भएपछि क्यान्सर रोगीको उपचारका लागि जनकपुरधाममै पूर्णकालीन सेवा दिनेगरी गाउँघर फर्केका हुन् ।
कोरोनाकालमा प्रदेश २ को अस्थायी राजधानी आइपुगेका डा.अजयले बन्दाबन्दीका कारण अलपत्र परेका प्रदेशका क्यान्सर रोगीहरूको उपचार जनकपुरधाममै गरे । अझ घरघर पुगेरै । जनकपुरधामको यात्री निवासमा क्लिनिक सञ्चालन गरेर सेवा दिने उनीकहाँ अन्तिम अवस्थामा मात्र क्यान्सर रोगी आउने गरेका छन् ।
चितवन, काठमाडौंलगायतका ठाउँमा उपचार गराई लाखौं रुपैयाँ सकेका क्यान्सर रोगीहरू आर्थिक रूपमा थला परेपछि र निको नहुने अवस्थामा आएपछि रगत तथा क्यान्सर रोगमा नेपालभरि नै एकमात्र डाक्टरेट गरेका डा.अजयकहाँ आउने गरेका छन् । नेपालका दुई दक्ष रगतरोग विशेषज्ञ सिभिल अस्पताल काठमाडौंका डा.विशेष पौडेल र नेपाल क्यान्सर अस्पतालका डा.सजिनराज भण्डारी पनि हिमेटोलोजीमा स्नातकोत्तर(एमडी) मात्र हुन् ।
प्रदेशको जनसँख्या ६० लाख छ । तीमध्ये बर्सेनि दस हजारसम्म क्यान्सरका नयाँ रोगी थपिने गरिएको अनुमान गरिन्छ । यद्यपि यससम्बन्धी आधिकारिक तथ्यांक कतै उपलब्ध छैन ।
केही वर्षअघि क्यान्सर रोग विशेषज्ञ डा.रीता महासेठले महोत्तरीका मटिहानी, जलेश्वर र सीतापुर भंगहामा पृष्ठभूमि, लक्षण र संकेतका आधारमा क्यान्सर ‘स्क्रिनिङ’ गर्दा क्याम्पमा आएकामध्ये हाराहारी २० प्रतिशत क्यान्सरका शंकास्पद रोगी फेला परेका थिए ।
अहिले प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले प्रदेशमा पहिचान र निदान हुन नसकेका ठूलै सँख्यामा क्यान्सरका रोगी रहेको टिप्पणी गरेका थिए ।
क्यान्सरको यस्तो भयावह अवस्थाका बाबजुद पनि प्रदेशका कुनै पनि अस्पतालमा क्यान्सर उपचार हुने एकाइ छैनन् । क्यान्सर अस्पताल बनाउने योजना सम्भाव्यता अध्ययन प्रतिवेदनमै थन्किएका छन् । डा.अजय कुनै बेला संघीय स्वास्थ्य मन्त्रालय र स्वास्थ्य हेर्ने प्रदेशको सामाजिक विकास मन्त्रालय दुवैले गठन गरेको क्यान्सर अस्पताल स्थापनासम्बन्धी सम्भाव्यता अध्ययन समितिका सदस्य थिए ।
क्यान्सर अस्पताल वा कुनै अस्पताल वा मेडिकल कलेजमा क्यान्सरको छुट्टै एकाइ सञ्चालन हुने आसा उनको मनमा पलाएको पनि थियो । तर, त्यो परिस्थिति नआएपछि उनले जनकपुरधाममा क्यान्सर उपचार गर्ने क्लिनिक सञ्चालन गर्ने टुंगोमा पुगे । जहाँ उनी एक्लो काम गर्छन् ।
‘अन्यत्र उपचार गराउँदागराउँदै पैसा सकेको र निको नभएको अवस्थामा बिरामीहरू थाकेर तथा गलेर मकहाँ आउँछन्,’ एमबिबिएसदेखि डाक्टरेटसम्म छात्रवृत्तिमा पढेका डा.अजयले भने, ‘मकहाँ ढिलोगरी रिफर हुने स्थिति पनि छ । भर्ना गरेरै उपचार गर्नुपर्ने स्थिति आएमा जानकी हेल्थ केयरसँग समन्वय गर्ने गरेको छु ।’
डा.अजयले डाक्टरेट गरेर नेपाल फर्किएपछि सन् २०१३ मा ग्रयान्डी अस्पताल टोखामा काम गरे । नेपाल फर्किनुअघि उनले युनाइटेड अरब इमिरेट्सको क्यानेडियन स्पेसलिस्ट हस्पिटलमा नेपाली दस लाख रुपैयाँको जागिर अस्वीकार गरेका थिए ।
रगत तथा क्यान्सर रोग नेपालजस्तो विकासशील मुलुकका लागि नयाँ विषय भएको र यस विषयमा विशेषज्ञको खाँचो रहेको भन्दै उनी आफ्नो देश आएका थिए । तर, यो नयाँ विषयमा रोजगारको अवसर खासै नभएकाले उनलाई ग्रान्डी अस्पताल ‘ज्वाइन’ गर्नुपरेको थियो । क्यान्सरका रोगीलाई सस्तो र सुलभ उपचार हुनुपर्छ भन्ने मान्यता बोकेका डा.अजय ग्रान्डीमा धेरै दिन टिकेनन् ।
एक वर्षपछि नै उनले भक्तपुर क्यान्सर अस्पतालमा काम आरम्भ गरे । सन् २०१४ पछि सन् २०२० सम्म त्यस अस्पतालमा उनी एउटा विभागको प्रमुख भएर काम गरे । विभागको नाम थियो–रगतरोग तथा बाल क्यान्सर विभाग । विभागमा दसवटा बेड थिए । नेपालमै पहिलोपटक यस्तो विभाग सञ्चालनमा आएको थियो ।
भक्तपुर क्यान्सर अस्पतालका बारेमा डा. अजयले भने, ‘संस्था सानो थियो । साधनस्रोत सीमित । तर त्यहाँ धेरै रगतका क्यान्सरबाट पीडितलाई निको बनाए । अस्पताल जातीय राजनीतिको शिकार भयो ।’
खासमा भक्तपुरका मेयरले अस्पतालको जग्गा नगरपालिकाको स्वामित्वमा रहेकाले अस्पतालको प्रबन्धन नगरपालिकाले नै गर्ने ढिपी गरेपछि विवाद चर्कदा अस्पताल १८ महिनासम्म निर्देशकविहीन भएको थियो । डा.अजय दसौं तहका वरिष्ठ कर्मचारी थिए । तर, त्यहाँका मेयरले स्वजातीय चिकित्सकलाई अस्पताल व्यवस्थापनको जिम्मेवारी दिएपछि उनी बिच्केर बिदा स्वीकृत गराए ।
सन् २०२० को अगस्तमा जनकपुरधाम आउँदा डा.अजयसँग सरकारीस्तरमा क्यान्सर अस्पताल सञ्चालन गराउने योजना थियो र कार्यान्वयन गराउने दृढता पनि । तर, सरकारले नै उदासीनता देखाएपछि उनको सीपले काम गरेन । उनले भने, ‘म महोत्तरीको पिपरास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा क्यान्सर अस्पताल सञ्चालन गर्न चाहन्थें । तर सरकारले पहल गरिदिएन ।’
एक अध्ययनअनुसार क्यान्सर रोगीको उपचारका लागि प्रदेश २ बाट बर्सेनि दुई अर्बभन्दा बढी रकम अन्य प्रदेशमा जाने गरेको छ । जबकि प्रदेश २ मा २० करोड रुपैयाँको सेक्ने मेसिन(रेडियोथेरापी) देखि लिएर अन्य उपकरणका लागि थप रकम गरी २५ करोड रुपैयाँमै क्यान्सर अस्पताल सञ्चालन हुन सक्छ ।
जनसँख्या, जनघनत्व, बिरामी सँख्या उच्च भएको अनुमानका आधारमा प्रदेश २ मा क्यान्सर अस्सपताल चाहिन्छ । छुट्टै अस्पताल नभए पनि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तो संस्थामा सम्पूर्ण उपकरणसहितको साधनस्रोत र विशेषज्ञ जनशक्ति भएको डिपार्टमेन्ट आवश्यक छ । तर, डा.अजयको यो चाहना तत्काल फलीभूत हुने देखिँदैन ।
क्यान्सर उपचारका लागि देशमै जनशक्ति थोरै छन् । तीमध्ये प्रदेश २ का चिकित्सक पनि छन् । भरतपुरमा डा.गुरु साह, डा. विनय ठाकुर, डा.रौनियार र काठमाडौंमा डा.प्रभु साह, अञ्जनीकुमार झा, डा.रीता महासेठ आदि । यी जनशक्तिलाई प्रदेशमा फर्काएर क्यान्सर विषयमै विशेषज्ञता हासिल गर्ने नयाँ जनशक्ति उत्पादनका लागि पनि सरकारको तत्परता अपरिहार्य मानिएको छ ।
डाक्टरेट गर्दा डा.अजयसँग दुईवटा छनोट थियो । एउटा, बालरोग र अर्को रगतरोग तथा क्यान्सर विषयमा उपाधि हासिल गर्ने । उनले दोस्रो रोजे। उनलाई लागेको थियो भारतमै आफूभन्दा एकजना डा.सपना ओबरायले मात्र पूरा गरेको आफूसँग थप एकजना अरू पढ्ने तहमा नयाँ तर आवश्यक विषय छनोट गर्नुपर्छ । सरकारी उदासीनताले आज जनकपुरधाममा उनलाई ‘घाटेवैद्य’ हुनुपर्दाको पीडा सोध्नेहरू पनि छैनन् ।
भारतमा देशभरिकै प्रतिस्पर्धामा छनोट भएपछि मात्र डाक्टरेट अफ मेडिसिन पढ्न पाइन्छ । र, यस विषयका लागि एकदेखि दुईजना छनोट हुने अभ्यास छ । झन् डा.अजय डाक्टरेटको उपाधि लिएर आउँदा विदेशबाट यो उपाधि हासिल गर्ने उनी पहिलो नेपाली चिकित्सक थिए ।
महेन्द्र विद्याभूषण ‘क’ बाट सम्मानित डा. अजय अनुसन्धानकर्मी पनि हुन् । उनले भारत, चीन, भुटान, पाकिस्तान, साउदी अरेयिबा, सिंगापुर, जर्मनी, हंगेरी आदि देशमा क्यान्सरसमबद्ध विषयमा अनुसन्धानपत्र प्रस्तुतसमेत गरेका छन् ।
डा.अजय दुईपटक काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्समा काम गर्ने औसर पाए । पहिलोपटक सन् २००२ देखि सन् २००३ सम्म एमबिबिएस सकाएपछि र त्यसपछि सन् २००६ देखि २००९ को अन्त्यसम्म । त्यसअघि उनले दुई वर्षसम्म युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवामा मेडिकल अफिसर भएर काम गरेका थिए ।
सन् २००६ मा मणिपालबाट बालरोगमा एमडी गरेर फर्केका डा.अजयले काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्समा बालरोग उपचारका लागि जेनरल वार्ड, एनआइसियु, पिडियाट्रिक आइसियुजस्ता पूर्वाधार व्यवस्थापन गरे । जसको फलस्वरूप त्यहाँ बारोग विषयमा एमडीको पढाइ सुरु भयो ।
जनकपुरधाम नगरपालिका वडा नं २० देवपुराका डा.अजय गोगुलप्रसाद मावि बसहियाबाट प्रवेशिका र काठमाडौंको अमृत साइन्स क्याम्पसबाट आइएस्सी उतीर्ण गरेका छन् । उनले आइएस्सीमा विश्वविद्यालयमै नवौं स्थान हासिल गरेका थिए ।
पहिलोचरणको कोरोनाकालमा जनकपुरधाम आएपछि उनले भनेका थिए, ‘हरेक घरमा आइसियु र अक्सिजन सिलिन्डर हुनुपर्छ ।’ त्यतिबेला ख्यालख्यालमा भनिएको जस्तो लाग्ने यो कुरालाई समयले सत्य बनाइदियो । समयको सत्य यो पनि हो कि अब डा.अजय निजि क्लिनिकबाट सस्तो र सुविस्ता उपचार पाउने सरकारी प्रतिष्ठानमा आफ्नो योग्यता, दक्षता र मिहिनेतबाट सयौं क्यान्सरका बिरामीलाई जीवनदान दिनुपर्छ ।
