जनकपुरधाम, २६ कात्तिक ।
कोरोना महामारीले दुई वर्षसम्म थलिएको जनकपुरधाममा त्यसअघिका वर्षझैँ यस वर्ष विवाहपञ्चमी महोत्सवलाई भव्य बनाउन सात दिवसीय कार्यक्रम आयोजना गरिने भएको छ ।

यस वर्षको सीताराम विवाहपञ्चमी आउँदो मंसिर २२ मा हुने भएकाले अहिलेदेखि नै तयारी थालिएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकारी दिए ।
विवाहपञ्चमी महोत्सवलाई दृष्टिगत गरी एक सातासम्म विभिन्न कार्यक्रम हुने हुँदा यस वर्ष मंसिर १७ देखि नै विवाहपञ्चमी महोत्सव सुरु हुने महन्त दास वैष्णवको भनाइ छ ।
उनले गत वर्ष कोरोना महामारीका कारण विवाहपञ्चमी औपचारिकतामा मात्र सीमित भएकाले यस वर्ष भव्यताका साथ मनाउने उद्देश्य रहेको स्पस्ट पारे ।
भव्य रूपमा विवाहपञ्चमी मनाउन विभिन्न १९ वटा समिति तथा उपसमिति गठन गरिएका छन् ।
जानकी मन्दिरमा राखिएको सर्वपक्षीय बैठकमा महन्त वैष्णवले विवाहपञ्चमी महोत्सवका लागि शान्तिसुरक्षा व्यवस्थापन, प्रचारप्रसार, यातायात व्यवस्थापन, बजार व्यवस्थापन, रंगभूमि मैदानमा पण्डाल एवं गेट व्यवस्थापन, भारतको अयोध्याबाट आउने जन्तीको स्वागत, श्रद्धालुभक्तजनको भिडभाड व्यवस्थापनसहित बसोबास व्यवस्थापन, विद्युत आपूर्तिलगायतका लागि समिति गठन गरिएको बताए ।
फोहोर र शौचालय व्यवस्थापनमा जनकपुरधाम उपमहानगरपालिका तथा जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्ले समेत ध्यान नदिने गरेको गुनासो गर्दै महन्त वैष्णवले सरोकारवालालाई यस विषयमा गम्भीर हुन ध्यानाकर्षण गराए ।
उनले विवाहपञ्चमी महोत्सवलाई भव्यता बनाउन आवश्यक सहयोग गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारसँग आग्रहसमेत गरे ।
महोत्सवअन्तर्गत आगामी मंसिर १७ मा जनकपुरधाम नगरदर्शन, १८ मा फूलवारीलीला, १९ मा धनुषयज्ञ, २० मा तिलकोत्सव, २१ मा मटकोर, २२ मा शुभविवाह र २३ मा रामकलेवा कार्यक्रम हुने जनाइएको छ ।
