जनकपुरधाम, २५ कात्तिक ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनगणणामा आधारित भएर प्रदेश सरकारले नीति तथा कार्यक्रम बनाउने हुँदा आजबाट घरदैलोमा पुग्ने गणकहरूलाई सही विवरण टिपाउन प्रदेशवासीलाई आह्वान गरेका छन् ।
उनले राज्यपुनर्संरचनापछि अर्थात् देशले संघीय शासन प्रणाली अंगालेपछिको यो पहिलो जनगणणाबाट प्रादेशिक मोडलमा जनसँख्यासम्बन्धी तथ्यांक उपलब्ध हुने हुँदा सही टिपाइएको तथ्यांकले प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुने बताए ।

आज कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म पारिवारिक र व्यक्तिगत विवरण लिन गणकहरू घरदैलो पुगिरहेका छन् ।
मुख्यमन्त्री राउतले आज एक अपिल प्रकाशित गरी जनगणणाका लागि आउने सुपरीवेक्षक वा गणकसँग आत्मीय व्यवहार गर्न आग्रह गरे ।
उनले सुपरीवेक्षक वा गणकले सोधेका सबै प्रश्न धीरतापूर्वक सुनेर सही जबाफ दिन भन्दै जनगणणाबाट आउने तिनै तथ्यांकलाई आधार मानेर सम्बन्धित जाति, धार्मिक समुदाय, महिला वा अपांगता भएका व्यक्तिका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने प्रस्ट्याए ।
उनले प्रदेशको जनसँख्या, जातिजातिका र धर्मसंस्कृतिका मानिसको बसोबास स्थिति, भाषिक समुदायकोे बहुलता, सामाजिक बहिष्करणमा परेका दलित, जनजाति, अल्पसँख्यक, लोपोन्मुख, महिला, अपांगता भएका व्यक्ति आदिको अवस्था जनणणााले छर्लंग पार्ने उल्लेख गरे ।
यसपटकको जनगणणामा रोजगार, बेरोजगार, बैंक तथा वित्तीय संस्थामा पहुँचको अवस्था, सरकारी अनुदान प्राप्त गरेको वा नगरेको, वडा तहसम्म सामुदायिक भवनको अवस्था जस्ता मसिना तर नागरिकका लागि अति महत्वपूर्ण विषयको प्रश्नावली समेटिएको भन्दै आफूले टिपाएको विवरणको गोपनीयताबारे संशय नगर्न समेत आग्रह गरे ।
