जीवन जयन्ती नायक
कर्जन्हा (सिरहा), ४ मंसिर ।
प्रधानमन्त्रीको सरकारी निवास रहेको बालुवाटार क्षेत्रमा घर भएकी र राजधानीमा लगानी व्यवसायमा इज्जत, प्रतिष्ठा र दाम कमाउँदै गरेकी एउटी अग्ली, पातली र सुन्दर महिलाको लवाइखुवाइ कुनै बेला चर्चाको विषय बन्थ्यो । उत्तिकै चासो सेयर बजारमा उनको उद्यमप्रति पनि थियो ।
सुखसयल र सन्तोकका साथ जीवन बिताउँदै गरेकी ती महिला शुक्रबार धनुषाको सीमान्त नदी कमला पारिपट्टी भेटिइन् । सिरहाको कर्जन्हा नगरपालिकामा गाउँलेहरूको बाक्लो भिडमा उनी राजनीति र समाजका कुराहरू उधिन्दै थिइन् । गाउँलेहरू पनि उनका कुरा बडो ध्यानपूर्वक सुनिरहेका थिए । काठमाडौंमा उनलाई आरम्भिककालमा चिन्नेहरूका लागि यो दृश्य तीनछक्क पर्ने खालको हुन सक्छ ।
तर, वास्तविक्ता थियो– कुनै बेला सेयर बजारकी ‘हिरो’ रेणु यादव अहिले कमला किनार र वरपरका गाउँका बासिन्दाका लागि औंधी माया गर्ने राजनीतिकर्मी बनेकी छिन् ।
साधारण तर अनुपम पहिरनमा देखिएकी रेणुको मिजासिलो र सरल व्यवहार अनि तर्क एवम् प्रभावपूर्ण बोलीका कारण मोहित भएका गाउँलेहरूले उनीसँग घरेलु राजनीतिका छलछाम र जीविकाका समस्याहरूबारे घन्टौं कुरा गरे । अनि एउटा बाटो तयार गरे गाउँठाउँको विकास र पिछडिएका जनताको जीवनस्तरोन्नतिका लागि ।
रेणु त्यस ठाउँबाट हिँडिन् एउटा अर्को गन्तव्यतर्फ । त्यहाँ पनि उनले गर्ने भनेको सुखदुःखका कुरा नै हो । पात्र भने तिनै जनता हुनेछन् ।
‘थाक्दिनन् रेणु । उखरमाउलो गर्मी होस् कि आङ्ग सिरिङ्ग पार्ने कठ्याङ्ग्रिँदो चिसो । उनी गाउँबस्ती चहारिरहेकी हुन्छिन्,’ कर्जन्हाका वडा नम्बर ६ का ७५ वर्षीय गुलाब श्रेष्ठले भने, ‘गाउँकी बुहारी रेणु तीन वर्षयता गाउँकी छोरी भएकी छिन् ।’
सिरहा जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर ४ को १ मा पर्ने कर्जन्हा रेणु यादवको घर हो । उनको माइत सिरहाकै प्रतिनिधिसभा क्षेत्र नम्बर १ भगवान्पुर गाउँपालिकामा छ ।
तर, राजधानीको वातानुकूलित घर छाडेर जिल्ला फर्किएकी घरगाउँमै बस्न थालेपछि उनलाई यसक्षेत्रका बासिन्दा बुहारीभन्दा छोरीकै संज्ञा दिन थालेका छन् ।
काठमाडौंमै घरजम र व्यापारव्यवसाय हुँदा कर्जन्हाको घर जीर्णशीर्ण भइसकेको थियो । उनी गाउँठाउँकै मानिसका बीचमा बस्ने निधो गरेपछि घरको मुहार फेरेकी छिन् । जहाँ दिनहुँ सयौंको भिड लाग्ने गर्छ । ‘घरआँगन होस् कि घरअगाडिको आँप बगैँचामा, राजनीति र समाजका कुरा मात्र हुन्छन् । अनि कर्जन्हाकै मुहार फेर्ने योजना र तिनलाई व्यवहारमा उतार्ने कोसिसका कुरा,’ कर्जन्हा नगरपालिका वडा नं.५ का ६५ वर्षीय कुमार लामाले.भने ।
२०७५ साल वैशाख २० गते तत्कालीन संघीय समाजवादी पार्टीको सदस्यता लिएपछि उनी स्वास्थ्य शिविर सञ्चालन गर्ने उद्देश्यले गाउँ आएकी थिइन् । शिविरमा क्यान्सर परीक्षण र प्रारम्भिक उपचारको मेलो गरिएको थियो । करिब आठ सयभन्दा बढी व्यक्तिले स्वास्थ्य परीक्षण गराएका थिए । रेणुले करिब पन्ध्र लाख रुपैयाँबराबरको औषधि पनि बाँडेकी त्यस शिविरबाट क्यान्सरको अवस्था भयावह रहेको पत्तो लागेको थियो ।
देशको दक्षिणी भूभागमा क्यान्सरग्रस्त रोगीहरूको सँख्या उल्लेख्य रहेको भेउ पाएपछि रेणुले प्रदेश २ मा प्रादेशिक स्तरकै एउटा क्यान्सर अस्पताल कर्जन्हामा स्थापना तथा सञ्चालन हुनुपर्ने अभियानमा जुटिन् । त्यसपछि उनले भरमग्दुर प्रयत्न गरेर संघीय स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय आदि सम्बन्धित ठाउँबाट त्यसका लागि गरिनुपर्ने प्रक्रिया पूरा गर्न अघि सरिन् । क्यान्सर अस्पताल स्थापनाका लागि अब मन्त्रिपरिषद्को स्वीकृतिमात्र बाँकी छ । जसका लागि उनले पहल गर्ने भएकी छिन् । अर्थात् गाउँ फर्कँदा उनले देखेकी पहिलो सपना अबका केही समयमा मूर्त रूप लिँदैछ ।
तत्कालीन संघीय समाजवादी पार्टीको केन्द्रीय कार्यसमिति बैठककै बेला काठमाडौंमा पार्टी सदस्यता लिइरहँदा अध्यक्ष उपेन्द्र यादवले सबैलाई चिनाउँदै भनेका थिए, ‘उहाँ रेणु यादव । मधेसमा उहाँको आवश्यकता छ ।’ पार्टीमा रेणु यादव नाउँ गरेको अर्की शीर्ष वरीयताकी नेता पनि छिन् ।
काठमाडौंको आत्मनिर्भर, व्यस्त र सुरक्षित जीवन छाडेर गाउँमै फर्की राजनीति गर्ने रेणुको चाहना यसक्षेत्रको दुरवस्था देखेरै पलाएको थियो । त्यसपछि उनी यस ठाउँमै बसिन् । ‘एकाध दिनका लागि काठमाडौं जाँदा पनि कर्जन्हाका साथीहरूले फोन गरेको गर्यै गर्नुहुन्छ । वास्तवमा म पनि उहाँहरूसँग नहुँदा अनौठो र असहज महसुस गर्छु,’ तीन वर्षयता निरन्तर गाउँमै बस्दै आएकी रेणुले भनिन् ।
काठमाडौंमा रेणुका पतिसँग निकटस्थ विभिन्न राजनीतिक दलका नेताहरू छन् । जसको घरमै आउजाउ भइरहन्छ । त्यसकारण राजनीतिमा आउन उनले काँग्रेस, एमाले र अन्य राजनीतिक दलबाट पनि ‘अफर’ पाइन् । तर अरू पार्टीभन्दा पनि मधेसकै मूलधारका पार्टी तत्कालीन संघीय समाजवादी पार्टी उनको रोजाइमा पर्यो ।
सामाजिक फाँटमा काम गरेरै परिचय बनाएकी रेणु पार्टीमा वडा, नगर हुँदै प्रदेश तहसम्मको यात्रा तय गरेकी छिन् । २०७६ वैशाख १३ र १४ गते पार्टी प्रदेश समितिको निर्वाचनमा प्रदेश सदस्य पदमा निर्वाचित भएकी उनी सोही समितिमा कोषाध्यक्ष मनोनीत भइन् ।
प्रदेश समिति निर्वाचनमा प्रस्ताव र समर्थक भेटाउन समेत सकस परेको उनलाई अधिवेशन लम्बिँदा सदस्यमा निर्वाचित हुन सजिलो भएको थियो । ‘अधिवेशन दुई दिन लम्बियो । अनि मैले अरूहरू सुतिरहेका बेला पनि सबैसँग भेटघाट र चिनजान गरेँ । त्यो मिहिनेतले नै मलाई सदस्यमा निर्वाचित गरायो,’ रेणुले सम्झिइन् ।
वाणिज्यशास्त्रका स्नातक जनता समाजवादी पार्टी नेपालकी नेता रेणु अहिले पनि आफ्नो धेरैजसो समय युवा र महिलाका लागि खर्चिन्छिन् । युवालाई खेलकुदसँग जोडेर रचनात्मक काममा अग्रसर गराउने अनि शिक्षा, स्वास्थ्य र सीपसँग जोडेर महिलालाई आत्मविश्वासी तथा आत्मनिर्भर बनाउने उनको चाहना छ । त्यसैले उनी युवा र महिला समूहसँग मिलेर कर्जन्हा क्षेत्रमा काम गर्दैछिन् ।
राजनीतिमा रेणु सोझै जनतासँग जोडिन चाहन्छिन् । त्यसैले उनी निर्वाचनमा समानुपातिकबाट होइन, प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने सोचमा छिन् । सिरहा ४ को १ मा उनका कामप्रति सम्मान दर्शाउने जनता समाजवादी पार्टी नेपालका नेताकार्यकर्ता मात्र छैनन्, अन्य राजनीतिक दलसँग आबद्ध भएकारू पनि रेणुलाई उत्तिकै रुचाउने गर्छन् ।
‘जनताको स्नेह र आत्मीयता पाउनु नै मेरो जितको आधार भएकाले म प्रत्यक्षतर्फ चुनाव जितेर यस ठाउँका लागि केही गर्न चाहन्छु,’ रेणुले बिट मार्दै भनिन् ।
