विजय साह
जनकपुरधाम, २७ कात्तिक ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेन्द्र यादवले जय नेपाल भन्न नसक्नेले देशको भलो गर्न नसक्ने बताएका छन् ।
शुक्रबार धनुषाको मिथिला नगरपालिका वडा नं. १० लालगढमा आयोजित नेपाली काँग्रेसको १४ औं वडा अधिवेशन उद्घाटन समारोहमा पूर्वमन्त्री यादवले जय नेपाल भन्न नसक्नेहरूले देश र जनताका हितमा काम गर्न नसक्ने दाबी गरे ।
उनले नेकपा एमालेलगायत वामपन्थी राजनीतिक दलका नेतातर्फ इङ्गित गर्दै प्रश्न गरे, ‘वामपन्थी नेता जय नेपाल भन्न किन हिचकिचाउँछन् ?’

विश्वका दुई सय पाँच मुलुकमध्ये पाँचवटा देशमा मात्र वामपन्थीको राजनीतिक गतिविधि रहेको जानकारी दिँदै उनले वामपन्थीहरूको गतिविधि सीमित हुनुमा उनीहरू आफै दोषी रहेको जिकिर गरे ।
देश र जनतामाथि हैकमवादी शासन लाद्ने, तानाशाही प्रवृत्ति देखाउने गरेकै कारण बामपन्थीहरू हराउँदै गएको नेता यादवको भनाइ थियो ।
पूर्वमन्त्री यादवले लोकतान्त्रिक अभ्यासअनुसार वडा अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न समेत आग्रह गरे । उनले नेतृत्व चयन गर्दा पार्टीको विधानअनुसार सबै तहका प्रतिनिधित्व गराउनुपर्ने बताए ।
पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा उनले जोड दिए । उनले पार्टी एकताबद्ध बनाउन सकेमात्र पार्टीले निर्वाचनमा जित हासिल गर्ने बताए ।

मिथिला नगरपालिका वडा नं. १० का सभापति मख्खन कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, जिल्ला उपसभापति सन्तोष यादव, समिर घिमिरे, बासलाल महतोलगायतका नेताले पार्टीका नेताकार्यकर्ताहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
६२ जना जेष्ठ नागरिकलाई सम्मान
वडा अधिवेशन उद्घाटन समारोहका अवसरमा मिथिला नगरपालिका–१० लालगढका ६२ जना जेष्ठ नागरिकलाई आयोजकले सम्मान गरेको छ ।
आयोजकले ८० वर्ष उमेर कटेका जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर तथा मायाको चिनो प्रदान गरेर सम्मान गरेको हो ।

उनीहरूलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, पूर्वमन्त्री यादव र बरिष्ठ नेता समिर घिमिरेले दोसल्ला, मायाको चिनो र अबिर लगाई सम्मान गरेका थिए ।
पार्टी प्रवेश
त्यस्तै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आएका ११ जना नेताकार्यकर्ताले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई पूर्वमन्त्री यादव र नेता घिमिरेले अबिर माला लगाएर स्वागत गरेका थिए ।
