अहिलेका


जसपा पनि चुनावको पक्षमा छ : महिन्द्रराय यादव

सर्लाही, २८ असोज ।

नवनियुक्त कृषि तथा पशुपक्षी मन्त्री महिन्द्रराय यादवले अहिलेसम्मका सरकारले कृषि क्षेत्रमा तीनदेखि चार प्रतिशतसम्म मात्र बजेट विनियोजन गर्दै आएकाले कृषिक्षेत्रको विकास हुन नसकेको बताएका छन् ।

बिहीबार गृहजिल्ला सर्लाही आएका मन्त्री यादवले कृषिक्षेत्रमा भइरहेको न्यून लगानी देशकै लागि दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै मुलुकको आर्थिक समृद्धिका आधारका रहेको कृषिक्षेत्रको विकासका लागि सरकारले गम्भीरतापूर्वक योजना ल्याई अघि बढाउने बताए ।

जनता समाजवादी पार्टी(जसपा) नेपालका नेतासमेत रहेका मन्त्री यादवलाई जिल्लाका नेताकार्यकर्ताहरूले हिजो पूर्वपश्चिम राजमार्गस्थित नवलपुरमा भव्य स्वागत गरेका थिए ।

जिल्लाका विभिन्न ठाउँमा आयोजित शुभकामना तथा बधाई कार्यक्रममा मन्त्री यादवले परम्परागत खेती प्रणालीले किसानको जीवनस्तरमा परिवर्तन सम्भव नभएको भन्दै कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘किसानको हित हुने र यस कामका लागि मन्त्रालयले ठोस योजना ल्याउनेछ ।’

मन्त्री यादवले बिउबिजन र मलखादसम्बन्धी समस्याबाट आफू जानकार रहेको र समस्या समाधानका लागि ठोस पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

उनले एक अर्को प्रसंगमा भने, ‘गठबन्धन सरकार चुनावी सरकार भएकाले देशमा चुनाव होस् भन्ने जनता समाजवादी पार्टीले चाहेको छ ।’

देशमा कुनै पार्टीले बहुमत ल्याउन नसक्ने अवस्था भएकाले गठबन्धनको माध्यमबाट बहुमत ल्याएमा संविधानमा रहेका त्रुटिहरू सच्चिने र देश, जनता तथा लोकतन्त्रको रक्षा हुने मन्त्री यादवले दाबी गरे ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!