अहिलेका


जसपा मधेस परिषद गठन हुँदै, अध्यक्षमा बालकिशोरको सम्भावना उच्च

जनकपुरधाम, २ मंसिर ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको बहुप्रतीक्षित मधेस प्रदेश परिषद् दुई दिनभित्रमै गठन हुने भएको छ ।

सिद्धान्तः समायोजन र व्यावहारिक रूपले व्यवस्थापनको नीतिअन्तर्गत गठन हुने सो समितिका अध्यक्ष, अन्य १४ पदाधिकारी र सदस्यहरूसहित दुई सय पाँचजना छनोट गर्ने जिम्मेवारी पार्टीको प्रदेश समिति अध्यक्ष विजयकुमार यादवलाई दिइएको छ ।

फाइल फोटो

अध्यक्ष यादवले परिषद् अध्यक्ष, अन्य पदाधिकारी र सदस्यहरूको अन्तिम नामावली तयार भइसकेको र छिट्टै सार्वजनिक गरिने जानकारी दिए ।

अध्यक्ष यादव पार्टीको ‘एक व्यक्ति, एक पद’ सम्बन्धी नीतिअन्तर्गत मधेस प्रदेश परिषद् अध्यक्षमा नदाहोरिने भएका छन् । उनले पार्टी केन्द्रीय कार्यकारिणी सदस्य नै रोजेका छन् ।

पार्टी विधानअनुसार परिषद्मा अध्यक्षसहित १५ पदाधिकारी र एक सय ५१ सदस्य रहने व्यवस्था छ । तर, अहिले समायोजन वा व्यवस्थापनबाट परिषद्ले पूर्णता पाइरहेकाले कुल दुई सय पाँच जना परिषद्मा रहनेछन् । परिषद् सदस्यको सँख्या थपघट हुन सक्ने अध्यक्ष यादवले बताए ।

परिषद्मा अध्यक्षका अतिरिक्त सात उपाध्यक्ष, एक मुख्यसचिव, पाँच सचिव, एक कोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था छ ।

केही दिनअघि पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, नेताहरू महिन्द्रराय यादव र राजकिशोर यादवसहित जनकपुरधाममा बसेको मधेस परिषद् बैठकले अध्यक्ष विजयलाई सामूहिक सहभागिता, कामको मूल्यांकन, योग्यता र क्षमता तथा भौगोलिक समावेशिताका आधारमा पार्टी पदाधिकारी र सदस्य चयन गर्ने जिम्मेवारी दिएको थियो ।

पार्टीको मधेस प्रदेश परिषद्का लागि औपचारिक रूपमा अशोककुमार यादव, शेषनारायण यादव, बालकिशोर यादव, रामबाबु यादव, उर्मिला साह, रामप्रीत पासवान, ज्ञानेन्द्रकुमार यादव, सुशीलकुमार यादव, रामअवतार यादव र आनन्दकुमार यादव नामांकित छन् । यी नामबाटै अध्यक्ष छनोट गर्नुपर्ने बाध्यकारी अवस्था छ । अध्यक्ष हुन नपाएका अरूहरूलाई पार्टी पदाधिकारी वा सदस्यमा व्यवस्थापन गर्न सकिने प्रतिबद्धता लिइएको छ ।

स्रोतका अनुसार परिषद् अध्यक्षमा बालकिशोर यादवको चयन हुने सम्भावना अत्यधिक छ । पूर्वस्वास्थ्यकर्मी बालकिशोर पार्टीमा स्थापनाकालदेखि नै कार्यरत छन् । संगठन निर्माण तथा परिचालनमा उनी कुशल तथा दक्ष मानिन्छन् ।

अध्यक्ष विजयले भने कुनै पनि अनुमान सत्य हुनु एउटा संयोगमात्र हुने र अध्यक्ष तथा पदाधिकारी एवम् सदस्यहरूका बारेमा सार्वजनिक नहुन्जेलसम्म केही भन्न नमिल्ने बताए ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!