विजय साह
जनकपुरधाम, १३ पुस ।
नेपालका लागि इजरायली राजदूत हनन गोर्डर गोल्डबर्गरले नेपाल र इजरायलबीचको सहकार्य सुदृढ द्विपक्षीय सम्बन्धको एउटा उदाहरण भएको बताएका छन् ।
मंगलबार धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा आयोजित अभिमुखीकरण कार्यक्रममा उनले नेपाल–इजरायलबीचको सम्बन्ध आपसी हित र सहकार्यका विषय केन्द्रित रहँदै आएको उल्लेख गरे ।
राजदूत हननले जानकी मेडिकल कलेज र इजरायलका विश्वविद्यालयका विद्यार्थीबीच कृषि, स्वास्थ्य, प्रविधिसम्बन्धी ज्ञान आदानप्रदान गर्ने वातावारण मिलाइएको जानकारी दिए । उनले नेपालका विद्यार्थीलाई इजरायल लैजान र इजरायलका विद्यार्थीलाई नेपाल ल्याउने वातावरण मिलाइएको बताए ।
कार्यक्रममा राजदूत गोल्डबर्गरले कृषि, स्वास्थ्य क्षेत्र र फोहोर व्यवस्थापनजस्ता आवश्यक विषयहरूमा ल्याउन सकिने नयाँ प्रयोगका बारेमा चर्चा गरे । कार्यक्रममा उनले जानकी मेडिकल कलेजका निर्देशक डाक्टर रामप्रसाद उप्रेतीले लेखेका प्राथमिक उपचारसम्बन्धी किताबको विमोचन पनि गरे ।
राजदूत हननले कलेज हाताभित्र निर्माण गरिएको अस्पताल भवनको अनावरणसमेत गरे ।
भवनको अनावरण गर्दै राजदूत हननले आफूलाई गरेको सम्मानप्रति कलेज व्यवस्थापनलाई आभार प्रकट गरे । कलेजका सञ्चालक, प्रधानाध्यापक, प्रध्यापक तथा विद्यार्थीको खुलेर प्रशंसा गर्दै उनले आगामी दिनमा कलेज तथा अस्पताललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राजदूत हननले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै भने, ‘यो मन त मेरो नेपाली हो ।’ उनले नेपाल र नेपालीको मुक्तकन्ठले प्रशंसा गरे । ठूलो सम्भावना भएको देश नेपाल आफूलाई निकै मन परेको उनको भनाइ थियो ।
राजदूत हननले नेपाल सरकारले शिक्षा, स्वास्थ्य, कृषिजस्ता विषयलाई प्राथमिकतामा राखेर विकास निर्माणका काममा अघि बढनुपर्ने पनि सुझाए ।
निर्माणाधीन भवन राजदूत हननका नाममा समर्पण गरिएको कलेजका निर्देशक डाक्टर रामप्रसाद उप्रेतीले जानकारी दिए । उनले कलेज तथा शिक्षण अस्पतालमा इजरायलबाट स्वास्थ्य प्रविधि तथा उपकरण ल्याएर मेडिकल क्षेत्रमा छुट्टै पहिचान बनाइने बताए ।
निर्देशक उप्रेतीले कलेजस्तरीय मेडिकल शिक्षा प्रदान गर्दै आएको सो कलेजले आउँदा दिनमा दक्ष डाक्टर उत्पादन गर्ने र नेपालकै सुविधासम्पन्न अस्पताल बन्ने बताए । उनले स्वास्थ्य क्षेत्रका चुनौती समाप्त गर्ने उद्देश्यका साथ कलेजले शिक्षा प्रदान गर्दैआएको दाबीसमेत गरे ।
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डेलगायत कलेजका विद्यार्थीहरूको उपस्थिति थियो ।
