बुटवल, १९ कात्तिक ।
जुवा खेल्दै गरेका ३१ जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । जिल्लाका दुई ठाउँबाट ६ लाखभन्दा बढी नगदसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–१ बैरियास्थित किशोरजङ्ग पुनको घरबाट १९ जना र वडा नंं २ को लेकबेसी होटेलबाट १२ जनालाई जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलीले दुई ठाउँका जुवा खालबाट ६ लाख १९ हजार १२७ रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूमा स्थानीय उद्योगी व्यापारी भए पनि प्रहरीले नाम सार्वजनिक गरेको छैन ।
पक्राउपछि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका उनीहरूलाई मुलुकी अपराध संहिता दफा १२५ अन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले बताए ।
