अहिलेका

टिप्पणी : ओलीको स्पिन बलमा प्रचण्ड र माधव आउट हुने अवश्यम्भावी

प्रशोधक डेस्क

जनकपुरधाम, ५ फागुन ।
एमसिसी अनुमोदनका विषयमा गठबन्धन दलबीच सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा दुस्साहसिक तर निर्णायक कदम चाल्ने मनस्थितिमा पुगेका छन् । समयसीमाभित्र एमसिसी पारित गर्नैपर्ने अडानबाट विचलित नभई पछिल्ला दिनमा यसका लागि जस्तोसुकै कठोर तथा अप्रिय निष्कर्षमा पुग्नसक्ने संकेत देउवाले दिँदै आएका थिए ।

गठबन्धन दलमा सम्मिलित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्तावमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग दर्ता गराउन सहमत भएर गठबन्धनका बहुसँख्यक दलबीच साझेदारी कायम गराएका प्रधानमन्त्रीले त्यो उपक्रमको अन्त्र्य एमसिसी पारित गराउने उद्देश्यले अभिप्रेरित भएको सन्देश दिएका थिए ।

तर, सत्तासाझेदार दलहरूले भने त्यसलाई एमसिसीको सीधा विरोध नगरी संशोधनसहित पारित गराउन सहयोग गर्ने वा थप राष्ट्रिय सहमति गर्न अलिक पर धकेल्ने अभिव्यक्तिबाट प्राप्त सुविधाका रूपमा बुझे ।
जसको परिणाम नै थियो गठबन्धनका सहयात्रीहरूबाट देउवाको उच्च सजगता । उनले अर्को च्यानलबाट प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर वार्ता गरिरहे । र, बदलिँदो राजनीतिक घटनाक्रमसँगै एमालेको भूमिकाको पनि लेखाजोखा गरिरहेका थिए ।

बिहीबारको बैठकमा गठबन्धन दलका नेताहरूले एमसिसी थाँती राख्ने धारणा व्यक्त गरेपछि देउवाको धैर्यका बाँध फुट्यो र उनी त्यहाँ कड्किएर अलिक बेरपछि ओली निवास बालकोट लागे ।

दोस्रोपटक बालकोटबाट बाहिरिँदा पनि देउवाले प्रतिक्रिया दिन मानेनन् । यसको अर्थ छ उनी ‘एक्सन’ बाटै ‘रिएक्सन’ बाटै दिन चाहन्छन् । अबको पर्खाइ देउवा कदमको ।

धर्मपत्नी आरजुसँगै ओली निवास पुगेका प्रमुख प्रतिपक्षी दलका अध्यक्षसँग देउवाको बसाइ कोभिड प्रोटोकलको उपज मात्र होइन, देशका लागि एउटा सन्देश हो । उनी फेरि पनि रातका समयमा बालकोट नै फर्केको समाचार सार्वजनिक भएको छ । यसले प्रस्ट पारेको छ कि उनी एमसिसी पारित गराउन ओलीका भर परेका छन् ।

यसअर्थमा गठबन्धनको जग मक्किइसकेको छ । अब कुनै बेला पनि सरकारबाट एमसिसीका विरोध गर्ने दलहरू बाहिरिन सक्छन् वा गल्हत्याइन सक्छन् । ओलीका लागि यो सर्वाधिक सुन्दर र सानदार रणनीतिक जित हो । जसलाई उनले बडो चतुरतापूर्वक निकालेका छन् ।

सत्ताको धुरीबाट ओलीको स्पिन बलमा प्रचण्ड र माधव नेपाल केही बेरमा आउट भए भने त्यो अनपेक्षित र अप्रत्याशित हुँदैन । एमसिसीका बारेमा ओलीको दृष्टिकोणमा द्विविधा वा भ्रम छैन र थिएन पनि । उनले परिस्थितिलाई अनुकूल बनाउन मात्र समय–समयमा ढुलमुल नीति अंगालेको छनक दिएका थिए ।

अब केही समयका लागि प्रत्युत्तर दिने सुविधा सत्ता गठबन्धनका एमसिसी टेबल नगर्ने पक्षधर दलसँग छ । ती दलहरू कथंकदाचित युटर्न भए भने परिस्थितिमा बदलाव आउन सक्छ । तर, कार्यकर्ता सडकमा उत्रिएका बेला र नेतृत्वले नै तारन्तार एमसिसीविरुद्ध अभिव्यक्ति दिइरहेकाले यस्तो युटर्नको सम्भावना क्षीण भएको छ ।  हुनत नेपालको राजनीतिमा दलहरुले मार्ने औचक फड्कोको अनुमान गर्न मुश्किल छ ।

दोस्रोपटक बालकोटबाट बाहिरिँदा पनि देउवाले प्रतिक्रिया दिन मानेनन् । यसको अर्थ छ उनी ‘एक्सन’ बाटै ‘रिएक्सन’ बाटै दिन चाहन्छन् । अबको पर्खाइ देउवा कदमको ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!