काठमाडौं, १३ मंसिर ।
राष्ट्रिय प्रजातन्त्रिक पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टी एकीकरणपछि राप्रपाको पहिलो महाधिवेशन मंसिर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ ।
उनले पद नछोड्ने मानसिकता आफूमा नरहेको भन्दै केही अधुरा काम पूरा गर्न आफूलाई छोडिदिन अध्यक्ष पदका अन्य आकांक्षीसँग अनुरोध गरेका छन् ।
उनले अहिले नयाँ पुस्ताले युवा र उमेरको कुरा गरेको भन्दै ‘टुँडिखेलमा गएर दौडिन’ अनुरोध गरे। ‘म कुन पुस्ताको हुँ म आफैंलाई थाहा छैन, नयाँ पुस्ताका साथीहरूलाई भन्छु, अब पुस्तै भनेर युवा र उमेरको कुरा गर्ने हो भने टुँडिखेलमा गएर दौडौं,’ थापाले भने ।
उनले यदि टुँडिखेलमा दौडिँदा आफूले हारे अध्यक्षको उम्मेदवारी छोड्ने बताए ।
