वीरगञ्ज, ३० असोज ।
वीरगञ्ज–पथलैया सडकखण्ड अन्तर्गत बाराको भोलहीमा ट्याङकरले कारलाई ठक्कर दिँदा तीनको मृत्यु भएको छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ स्थित भोलहीमा शुक्रबार राति ११ बजे पथलैयाबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङकरले विपरीत दिशाबाट आउँदै गरेको बी आर ०६ सी क्यु ४१४१ नम्बरको कारलाई ठक्कर दिएको हो ।
मृत्यु हुनेहरुमा कारका चालक भारत बिहारको मोतीहारीका ३४ वर्षीय राजन सर्राफ, कारमा सवार २५ वर्षीय सुरज प्रसाद र २७ वर्षीय कृत सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जनाए ।
कार चालक राजनलाई उपचारका लागि वीरगञ्ज ल्याउने क्रममा बाटोमै मृत्यू भएको थियो भने सुरज प्रसाद र कृत सिंहको भने वीरगन्ज स्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पर्सा प्रहरीले जानकारी दिए ।
मृतक मध्येका सुरज प्रसाद र कृत सिंहको भने ठेगाना खुल्न नसकेको प्रहरी निरीक्षक यादवले बताए ।
ट्याङकरका चालक भने फरार रहेको र उनको खोजी कार्य भइरहेको पर्सा प्रहरीको भनाई छ ।
