जनकपुरधाम, २८ मंसिर ।
महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएसंगै तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरिएको छ ।
रविशंकर कुमार कर्णको अध्यक्षतामा तराई मधेश लोकतान्त्रिक पार्टी मंगलबार निर्वाचन आयोगमा दर्ता गरिएको हो ।
निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर र सनाखत पछि तराई मधेश लोकतान्त्रिक पार्टीलाई छुट्टै दलको रुपमा मान्यता दिँदै दर्ता गरेको छ । सो दलको दर्ता नम्बर १७५ रहेको अध्यक्ष कर्णले जानकारी दिए । दलको केन्द्रिय कार्यालय भने जनकपुरधाम नै राखेका छन् ।
तराई मधेश लोकतान्त्रिक पार्टी नामक राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता गरिएको र आयोगबाट मंसिर ९मा निर्णय भएको आयोगका सचिव गोकर्णमणि दुवाडीले जनाए ।
अध्यक्ष कर्णले गत साउन १२ मा नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र हस्तान्तरणका लागि आज बोलाएको अध्यक्ष कर्णले बताए ।
सो पार्टीको २१ सदस्यीय केन्द्रीय समिति रहेको छ ।
सो पार्टीको चुनाव चिन्ह कलश तथा पार्टीको झण्डामा माथिको आधा भाग केसरिया र आधा हरियो रंग रहेको छ । तत्कालिन तमलोपाको चुनाव चिन्ह जोडा बैल थियो ।
अध्यक्ष कर्ण लोसपाका अध्यक्ष ठाकुरसंग विमती जनाउँदै नयाँ दललाई वैधानिकता दिएका हुन् ।
