अहिलेका


ताजा मतादेश लिन काँग्रेसलाई शरतसिँह भण्डारीको चुनौती

अमित ठाकुर

जनकपुरधाम, १४ असोज ।

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले शेरबहादुर नेतृत्वको सरकारलाई असफल र अप्राकृतिक गठबन्धनको संज्ञा दिएका छन् ।

बिहीबार महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर २ स्थित बर्दाहामा नगर प्रवेशद्वारको उद्घाटन गर्दै नेता भण्डारीले अदालतबाट शेरबहादुर देउवाको सरकार बनेकाले तत्काल सर्वदलीय सरकारको आश्वयकता रहेको बताउँदै निर्वाचन घोषणा गर्न माग गरेका हुन् ।

उनले वर्तमान सरकारसँग जनताको म्यान्डेट नरहेकाले तत्काल जनताका बीचमा गएर नयाँ अभिमतसहित सरकार चलाउन काँग्रेसलाई आग्रह गरे ।


पूर्वमन्त्री समेत रहेका नेता भण्डारीले नेपाली काँग्रेस कुन नैतिकताका आधारमा सरकार चलाउँदैछ भन्दै प्रश्नसमेत गरे । उनले भने– ‘जनतामाझ गएर नयाँ म्यान्डेट लिएर काँग्रेस आउँछ भने काँग्रेसले नै सरकार र देश चलाउदाँ आफूहरु समेत यो सरकारलाई समर्थन गर्त तयार छौँ।’

उनले भने– ‘तत्कालीन समयमा प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने सवालमा जसपा एकठाउँ उभिएको भए पनि आज मधेसी जनताको सरकार हुनेथ्यो । तर मधेसी नेता प्रधानमन्त्री बन्न चुक्यो । यसको समीक्षा इतिहासले अवश्य नै गर्नेछ ।’

उनले जसपा विभाजनपूर्व जनता समाजवादी पार्टीले इतिहास निर्माण गर्ने अवसर गुमाएको भन्दै जसपाका अध्यक्ष उपेन्द्र यादवको आलोचना गरे ।
उनले काँग्रेसले अदालतको भरमा मुलुकमा शासन गरिरहेकाले हाम्रो आपत्ति रहेको समेत बताए ।

उनले लोकतान्त्रिक विधि, पद्धति र प्रक्रियाअनुसार मुलुकमा शासन गर्न काँग्रेसलाई आग्रह गरे ।

उनले निलम्बित प्रतिनिधिसभा सदस्य रेशम चौधरीको रिहाइका लागि लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न माग गरे ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नभएको भन्दै चिन्ता र चासो व्यक्त गरे । उनले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै तत्कालन लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी झुठा मुद्दामा फसाइएका सांसद चौधरीलाई तत्काल रिहा गर्न
माग गरे ।

उनले केही दिनअघिको कुरा सम्झँदै भने, ‘प्रधानमन्त्री ओली रहेकाले उनले संंविधान संशोधन र नागरिकताको सवालमा सहमत भई पहलकदमी लिएकाले हामीहरुले बाध्यतावश उनैलाई समर्थन गरेको थियौं ।’

सो प्रवेशद्वार निर्माणमा मटिहानी नगरपालिकाको ५० लाख रुपैयाँको लागत छ ।

कार्यक्रमको अध्यक्षता मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले गरेका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!