अहिलेका


दसैँ नेताका लागि भव्य अवसर


जनकपुरधाम, २९ असोज ।

दसैँको चहलपहल अहिले गाउँघरमा ह्वात्तै बढेको छ । हरेक तप्काका मानिसहरु अहिले कार्यस्थल छाडेर आ–आफ्नो जन्मभूमिमा फर्केका छन् । त्यसको सबभन्दा बढी फाइदा राजनीतिक दलहरूले लिइरहेका छन् । अहिले नेताहरू आफ्नो कार्यक्रमहरू गाउँ केन्द्रित गरेका छन् ।

शुभकामना आदानप्रदानको नाममा दिनमा दुई चारवटा कार्यक्रमहरू गाउँघरमा भइरहेका छन् । कहीँ पार्टी प्रवेश त कहीँ मन्दिर उद्घाटन, पूजापाठका कार्यक्रमहरू गरेर नेताहरू जनताको घर–घरमा पुगिरहेका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत राष्ट्रिय दलका नेताहरु अहिले कार्यकर्ता देखि आमजनतासम्म पुग्नेका गरेका छन् । भने तराई–मधेस केन्द्रित दलका नेताहरु प्नि निकै अग्रसरता लिइएको देखिन्छ ।

नेपाली काँग्रेसका उपभासपति विमलेन्द्र निधिले १४ औँ महाधिवेशनका आकांक्षी उम्मेवादर सभापतिका लागि कार्यकर्ता भेटघाटलाई तिव्रता दिएका छन् भने माओवादी केन्द्रका पूर्वमन्त्री तथा स्थायी समिति सदस्य मातृकाप्रसाद यादव पनि कार्यकर्ता भेटघाट देखि जनसंगठन सुदृढिकरणमा व्यस्त छन् ।
एकीकृत समाजवादी भने संगठन निर्माणमा व्यस्त छन् । नेकपा एमाले बाट विभाजन भई गठित एकीकृत समाजवादीले संगठन निर्माणलाई तिव्रता दिएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अधिकांश नेताहरू अहिले तराई मधेस केन्द्रित भएका छन् । हालै विभाजन भएका यी दुवै पार्टी बीचमा कार्यकर्ताहरू बटुल्न प्रतिस्पर्धा चलेको छ । यी दलका नेताहरू कुनै न कुनै बहानामा जनताको बीचमा पुगिरहेका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले दसैँको मौकामा असोज २४ गते प्रदेश २ मा जसपा मधेस प्रदेश समिति समायोजन कार्यक्रम सम्पन्न गरे । त्यसको भोलिपल्ट सिरहामा अध्यक्ष यादवको उपस्थितिमा भव्य पार्टी प्रवेश कार्यक्रमको आयोजना भयो । सयौँका संख्यामा विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेकालाई अध्यक्ष यादवले स्वागत गरे । पार्टीले आयोजना गर्ने गरेको शुभकामना आदान प्रदान कार्यक्रममा समेत सहभागी हुँदै आइरहेका छन् ।

जसपाका कार्यकारिणी सदस्य एवम् कृषि मन्त्री महेन्द्रराय यादव पनि आफ्नो गृह जिल्ला सर्लाहीमा छन् । दसैँको उपलक्ष्यमा आयोजना हुने शुभकामना आदान प्रदान तथा स्वागत कार्यक्रममा उनी सहभागी हुँदै आफ्नो क्षेत्रको भ्रमणमा व्यस्त छन् ।

लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि यसपालिको दसैँमा आफ्नो निर्वाचन क्षेत्रमा पुरा समय दिइरहेका छन् । महोत्तरीको क्षेत्र ३ नम्बरमा नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गरिरहेका छन् ।

आफ्नो क्षेत्रमा उनी कार्यकर्ताहरूको घरघर पुगिरहेका छन् । दुर्गा पूजा हुने स्थानमा गएर पूजा गर्नु, नेता तथा कार्यकर्ताहरूलाई भेट्नु, पार्टीको सदस्यता वितरण, निर्माण कार्यको उद्घाटन गर्नु, सरकारबाट भएका विकासका कामको अनुगमन गर्नु जस्ता कार्यहरू अध्यक्ष ठाकुरले गरिरहेका छन् ।
सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो धनुषाको आफ्नो निर्वाचन क्षेत्रमा समय बिताइरहेका छन् ।

उनले लोसपाका नेता तथा कार्यकर्तालाई पार्टीको सदस्यता वितरण गर्नुदेखि लिएर अन्य पार्टीबाट आउनेहरूलाई पनि प्रवेश गराइ रहेका छन् । उनी कात्तिक १० गतेसम्म आफ्नै क्षेत्रमा रहने कार्यक्रम रहेको जनाइएको छ ।

अर्का वरिष्ठ नेता शरतसिंह भण्डारी पनि आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित छन् ।
मन्दिरहरूमा गएर पूजापाठ गर्नुको साथै नेता तथा कार्यकर्तालाई भेट्ने कार्यक्रमहरू गरिरहेका छन् । लोसपाका शीर्ष नेता अनिलकुमार झा, जितेन्द्र सोनललगायतका नेताहरू दसैँमा आआफ्नो क्षेत्रमा कार्यक्रमहरू गरिरहेका छन् ।
त्यस्तै, जसपाका कार्यकारिणी सदस्य एवं वन मन्त्री रामसहाय यादव, कार्यकारिणी सदस्यहरू मृगेन्द्रकुमार सिंह यादव, मनिष सुमन, नेता प्रदीप यादवलगायतका नेताहरू पनि आ–आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त छन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीले पनि दसैँमा पार्टीको कार्यक्रमहरूलाई तीव्रता दिएको छ ।
सो पार्टी पालिकाहरूमा अधिवेशन गर्नुको साथै दसैँको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमहरू गरिरहेका छन् ।
जनमतका अध्यक्ष सिके राउत जनकपुरमै छन् । उनी नेता तथा कार्यकर्ताहरूलाई भेट गरी शुभकामना आदानप्रदान गरी दसैँ मनाइरहेका छन् ।
दसैँको अवसरमा पारेर सिके राउतले पत्रकारहरुसंग समेत शुभकामना आदान प्रदान कार्यक्रम गर्न भ्याएका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!