जनकपुरधाम, २० कात्तिक ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दाइजो प्रथा सामाजिक कुरीति मात्र नभएर सामाजिक अपराधसमेत रहेको बताएका छन् ।
जिलई जमईत अहलेहदिस प्रदेश २ द्वारा धनुषाको गणेशमान चारनाथ नगरपालिका २ छघरियास्थित मदरसा प्राङ्गणमा आयोजित दहेजमुक्त अभियान कार्यक्रममा मुख्यमन्त्री राउतले दहेज रूपी सामाजिक अपराधलाई अन्त्य गर्नुको विकल्प नरहेको बताए ।
उनले दहेजका नाउँमा भइरहेका आपराधिक घटना अन्त्यका लागि सबैलाई आआफ्ना ठाउँबाट दृढतापूर्वक प्रयत्न गर्नुपर्ने आग्रह गरे ।
समाजको अधा हिस्सा ओगटेको महिला शिक्षामा जोड दिनुपर्ने भन्दै मुख्यमन्त्री राउतले सबै क्षेत्रमा महिलाको पहुँच नभएसम्म समाज विकास हुन सक्ने ठोकुवा गरे ।
प्रदेश सरकारले महिलाका लागि ५० प्रतिशत आरक्षण गरेको जानकारी गराउँदै उनले महिलाले शिक्षार्जन नगरे आरक्षणको फाइदा प्राप्त गर्न नसक्ने तर्क गरे ।

मतिबुल रहमानको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादव, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, जसपा नेपालका केन्द्रीय सदस्य दिपक कार्की, प्रदेशसभा सदस्य रामअशिष यादव, जैनुल राइन, मुस्लिम घर्मगुरुहरूले दहेजमुक्त समाज निर्माण विषयमा धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, जसपा नेपालनिकट बौद्धिक पेसाकर्मी माहासंघका उपाध्यक्ष जितेन्द्र यादवलगायत विभिन्न राजनीति दलका नेता, सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ।
