अहिलेका


दाजुभाइको आरोग्य र दीर्घायुको कामना पर्व ‘भाइटिका’ मनाइँदै

टिकाको उत्तम साइत ११ बजेर ०२ मिनेटमा

जनकपुरधाम, २० कात्तिक ।
आज यमपञ्चकको पाँचौं दिन अर्थात् भाइटीका । सप्तरङ्गी टिका, कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजु, किसमिस, नरिवल, छोहडा, मिठाइ, मरमसाला लगायतका खानेकुरासहित आज दिदीबहिनीले दाजुभाइको पूजागर्ने चलन छ ।

भाइटीकाको उत्तम साइत ११ बजेर ०२ मिनेटमा छ ।

आजका दिन टिका लगाउन दिदी–बहिनीले पान, सुपारी, नरिवल या मिठाइ लगायतका कुरा दिएर दसैंलगत्तै दाजूभाइलाई निम्तो दिने चलन छ । निम्तो पाएका दाजुभाइहरू आज दिदीबहिनीसंग टिका लगाउँदछन् ।

टिका लगाउनुपूर्व दिदीबहिनीले दाजुभाइलाई विशेष पूजा गर्नका लागि भुँइमा चकटी ओछ्याएर बसेको ठाँउ वरपर कलशमा तेल–पानी राखेर हरियो दुबोबाट पातलो धारा बगाउँदै पाँचपटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ ।

त्यसपश्चात् अक्षता, फूल, चन्दन, धानलाई भुटेर तयार भएको लाभा छर्कदैं कलशको पानीलाई दुबोले अभिषेक गर्दै पूजा गर्दछन् । यमराजको प्रतीक मानेर बिमिरा (एक प्रकारको ठूलो कागती प्रजातिको फल) को पूजा गरिसकेपछि दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फुटाई ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ ।

कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजूभाइको आरोग्य अनि दीर्घायुको कामना गर्ने चलन छ ।

कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजूभाइको आरोग्य अनि दीर्घायुको कामना गर्ने चलन छ ।

तस्बिर सौजन्य : खबरहब

शिरमा तोरीको तेल लगाएर दाजुभाइको कपाल कोरेर अनि सप्तरङ्गी टिका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टिका लगाइदिन्छन् । सप्तरङ्गी टिकाको कला एकअर्काको निधारमा सप्रेम लगाइसकेपछि दिदीबहिनीहरूले आफ्नो गच्छेअनुसारको फलफूल, नैवेध, मरमसला दाजुभाइलाई प्रदान गर्दछन् भने दाजुभाइले पनि आफ्नो गच्छेअनुसारको दक्षिणा या अन्य उपहार दिदीबहिनीको पाउमा राखेर ढोग्दछन् ।

यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौं दिन टिका लागाउँदा बहिनीले वरदानस्वरूप हरेक वर्ष दाजूलाई यसैगरी टिका लगाउन र पुज्न पाउँ भन्ने कुरा मागेकाले भाइटिकाको चलन चलिआएको किंवदन्ती रहेको छ ।

जनविश्वासका अनुसार एकपटक एकजना चेलीले आफ्नो दाजुलाई टिका लागाउँदै गर्दा यमराजका दूत उनको दाजूलाई लिन आइपुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यु निश्चित छ । ती चेलीले यमदूतलाई टिकाटालो नसकुन्जेलसम्म पर्खिन भन्छिन् र टिकाटालोका क्रममा यमदुतलाई पनि सँगै राखेर टिकाटालो अनि पूजा गर्दछिन् । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुसी भएका यमदुतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजुलाई नलग्नु भनेर वरदान माँगेर बचाएको अर्थात् चेलीको मायाले दाजुभाइको मृत्युसमेत टर्दछ भन्ने छ ।

भातृत्व अनि आत्मीयताको आजको दिनबाट तिहारको आज पाँचौं दिन यमपञ्चकको औपचारिक अन्त्य हुँदैछ ।

किजा पूजा

नेवाः समुदायले पनि कागतिहार र कुकुरतिहार मनाएता पनि मूल रूपमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाइटिका मनाउँदै आएको छ । तीन दिनसम्म लगातार मनाउँदै आएको कारणले नै स्वन्ति नखः भनिएको हो । नेवा भाषामा स्वन्हु भनेको तीन दिन र नखः भनेको चाडपर्व हो ।

कृषिप्रधान नेवा समुदायमा यो तीन दिनको चाड स्वन्ति नखः मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरिको हिसाब–किताब सम्पन्न गर्ने अर्थात् साल तामाम गर्नुका साथसाथै आफ्नो शरीरलाई पूजा गरी नयाँ वर्षका लागि संघर्ष गर्दै अगाडि बढ्नका लागि आवश्यक पौष्टिकतत्व ग्रहण गर्ने पर्वको रूपमा लिएको पाइन्छ ।

यस दिनमा म्ह पूजाकै दिनमा जस्तै तयार गरी मण्डप लेख्ने गरिन्छ । बिमिरोदेखि सबै प्रकारका फलफुल समेत मण्डपमा राख्ने गरिन्छ । नेवाः समुदायमा भने पञ्चरंगी टिका नभई अक्षता, अबिर, दही, चिउरा र पानी राखेको रातो टिकाको प्रचलन छ । यस टिकालाई जसलाई नेवारी संस्कारमा ’जाकि सिन्ह’ भनिन्छ ।

(हाम्रो पात्रोको सहयोगमा)


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!