जनकपुरधाम, कार्तिक २८ ।
जनकपुरधाम स्थित देवपुरा रुपैठामा स्थानीयले एक जनप्रतिनिधि कुटिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा बढाएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले आज राति १० बजेसम्म गरेको निषेधाज्ञालाई थप्दै मंगलबार राति १० बजेसम्मका लागि निषेधाज्ञा थपेको जनाएको छ ।
स्थानीयवासीको कुटाइबाट गम्भिर घाइते भएका वडा सदस्य महतोको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भएको अस्पतालले जनाएको छ ।
छठ पर्वका लागि पोखरीमा घाट निर्माणको विषयलाई लिएर भएको दुई समुदाय वीचको विवादले उग्ररुप लिएपछि जनकपुरधामको वडा नम्बर २० स्थित देवपुरा रुपैठामा निषेधाज्ञा थप गरिएको छ ।
धनुषाको जनकपुरधाममा दुई समुदाय बिच भएको विवादलाई लिएर लगाइएको निषेधाज्ञालाई बढाइएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले एक विज्ञप्ति जारी गर्दै आइतवार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० मा लगाइएको निषेधाज्ञालाई मंगलबार राति १० बजेसम्मको लागि बढाउने निर्णय गरेको छ ।
देवपुरा रुपैठा स्थित तेलिया पोखरीमा अर्घ राख्नका लागि निर्माण गर्न लागेको घाटको विषयमा हिन्दु मुस्लिम समुदाय वीच विवाद भएको थियो ।
प्रजिअ बास्तोलाले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै मंगलबार राति १० बजेसम्म निषेधाज्ञा बढाइएको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय धनुषाले देवपुरा रुपैठा स्थित पूर्वमा जलाद नदीको कल्री बाँध, पश्चिममा जनकपुर–जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
