काठमाडौं, ११ कात्तिक ।
नेपालमा संविधान जारी भएयता नेपाल र भारतबीच खलबलिएको कूटनीतिक सम्बन्धलाई ट्रयाकमा ल्याउने एउटा प्रयास हुने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीसँग आगामी साता स्कटल्यान्डको ग्लास्गो सहरमा हुने भनिएको भेटवार्ताबाट नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध स्थिर, सन्तुलित र सहज हुने अनुमान गरिएको छ ।
जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) का क्रममा देउवा र मोदीबीच ‘साइडलाइन’ वार्ताका लागि भेट हुन लागेको हो ।
यसअघि चौथोपटक प्रधानमन्त्री हुँदा देउवाले २०७४ भदौमा भारत भ्रमणक्रममा भारतीय प्रधानमन्त्री मोदीसँग भेटेका थिए । पाँचौं पटक प्रधानमन्त्री भएका देउवालाई एक महिनापछि गत साउन ३ मा संसद्बाट विश्वासको मत लिएपछि मात्र भारतीय प्रधानमन्त्री मोदीले फोन गरेर बधाई दिएका थिए
नेपालमा संविधान जारी भएयता भारतसँगको सम्बन्धमा निकै उतारचढाव आएको छ । नेपालका सत्ता सञ्चालन गर्ने राजनीतिक दल उत्तरी छिमेकीसँग नजिक भएर आफ्नो हितविपरीत कार्य गर्न थालेको विश्लेषणका आधारमा भारतीय पक्षले नेपालको घरेलु मामिलामा हस्तक्षेप गर्दै आएको एकथरीको आरोप छ भने केहीले नेपालको सत्ता राजनीति सम्हाल्नेहरू भारतको अनाहक विरोध गर्दै देशभित्र चुनावी राजनीति गर्दैआएको भनाइ छ ।
नयाँदिल्लीले दुई देशका प्रधानमन्त्रीबीच साइडलाइन वार्ताका लागि सहमत भएपछि दुवै पक्षबीचको तुस पखालिने र विश्वासको नयाँ वातावरण आरम्भ हुने परराष्ट्रविज्ञहरूले बताएका छन् ।
साइडलाइन वार्ताका लागि नेपालले आग्रह गरेको हो । जसलाई भारतले बुधबार स्वीकार गरेको स्रोतले जनाएको छ ।
कोप–२६ यही कात्तिक १२–२६ मा हुँदै छ । प्रधानमन्त्री देउवा भने १३ गते गएर १७ गते फर्कने छन् ।
