अहिलेका


धनुषामा पाउँदैनन् केही काँग्रेसीले भोट खसाल्ने अधिकार (ठाउँका नामावलीसहित)

जनकपुरधाम, ७ असोज ।

नेपाली कांग्रेसले धनुषा जिल्लामा देखिएको क्रियाशील सदस्यतासम्बन्धी विवाद साम्य पारेको छ । कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि धनुषाको क्रियाशील विवाद टुंग्याइएको हो ।

कांग्रेसको क्रियाशील विवाद समाधान समितिले विवाद टुंगोमा पुर्याउनका लागि नौबुँदे निर्णयसमेत गरेको छ ।सो निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी पनि बाँडफाँट गरिएको जनाइएको छ । कृष्णप्रसाद सिटौला नेतृत्वमा रहेको समितिले असोज ३ सम्ममा २ वटा जिल्लाको विवाद टुंग्याएको हो ।

सो समितिमा नेता रमेश लेखक र डा. मिनेन्द्र रिजाल सदस्य छन् ।

समितका निर्णयअनुसार धनुषा क्षेत्र नम्बर ४ स्थित बटेश्वर नगरपालिका वडा नम्बर ५ र क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर १० मा नयाँ क्रियाशील सदस्यहरूले १४ औँ महाधिवेशनमा सहभागी हुन पाउने छैनन् । सो निर्णयसँगै वडाहरूमा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन हुने भएको छ ।

त्यस्तै मिथिलाबिहारी नगरपालिका वडा नम्बर ६, वडा नम्बर १०, लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ र वडा नम्बर २ मा वडा सभापतिहरूले सिफारिस गरेको नयाँ क्रियाशील सदस्यतालाई मान्यता दिने निर्णयसमेत गरेको छ ।

क्षेत्र र जिल्ला तहबाट थपिएका नामहरू १४ औं महाधिवेशनपछि कारबाही प्रक्रियामा अगाडि आउने सो समितिले जनाएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ तथा लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ३, वडा नम्बर ४, वडा नम्बर ५, वडा नम्बर ६ मिथिलाबिहारी नगरपालिका वडा नम्बर २ र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ का वडा सभापतिहरूले फर्जी भनिएका क्रियाशील हटाएर वडा सभापतिहरूले सिफारिस गरेका क्रियाशील सदस्यले मात्र १४ औँ महाधिवेशनमा सहभागी हुने निर्णय सो समितिले गरेको छ ।

धनुषा जिल्लाको क्षेत्र नम्बर ४ मा क्रियाशील सदस्यता विवाद लामो समयदेखि रहेको थियो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!