जनकपुरधाम, २५ कात्तिक ।
धनुषा जिल्लाको एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिकाका १ सय ६९ वडामा कात्तिक २८ गते आइतबार नेपाली काँग्रेसको वडा अधिवेशन हुँदैछ ।
वडा अधिवेशनले पार्टीको वडा सभापति चयन गर्नुका दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र सदस्यहरूसहित नौदेखि ११ सदस्यीय कार्यसमिति चयन गर्नेछ । समितिका कोषध्यक्ष भने वडा सदस्यबाट मनोनित गर्ने प्रावधान छ ।
वडा अधिवेशनले प्रत्येक वडाबाट १५ देखि २५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन गर्नेछ । पार्टीका जनकपुरधाम नगर सभापति मनोजकुमार साहका अनुसार एक सय ५० क्रियाशील सदस्य भएका वडामा १५ जना क्षेत्रीय प्रतिनिधि छनोट गरिनेछन् भने दुई सय ५० भन्दा बढी क्रियाशील सदस्य भएका वडामा २५ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने वैधानिक व्यवस्था छ ।
जसअन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाका पाँचवटा वडामा २५ जना र अन्य २० मा १५ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । वडा अधिवेशनले नै बुथ कमिटी गठन गर्नेछ ।
१५ जना क्षेत्रीय प्रतिनिधि भएका वडामा खुलातर्फ नौमध्ये छ पुरुष र तीन महिला तथा दलित, आदिवासी, जनजाति, खसआर्य, मुस्लिम र अल्पसँख्यकतर्फ चार पुरुष र २ महिला निर्वाचित हुनेछन् । २५ जना क्षेत्रीय प्रतिनिधि चयन हुने वडाको अनुपात भने यसरी नै रहनेछ ।
क्षेत्रीय प्रतिनिधिहरूले नगर सभापति, क्षेत्रीय सभापति र जिल्ला सभापति पदका लागि उम्मेदवार तथा मतदाता हुनेछन् ।
क्षेत्रीय प्रतिनिधिहरूले नै जिल्लाका प्रत्येक प्रदेशसभा क्षेत्रबाट १५ जनाका दरले प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गर्नेछन् भने केन्द्रीय महाधिवेशनका मतदाताका रूपमा प्रत्येक प्रतिनिधिसभा क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नेछन् ।
