अहिलेका


धनुषा काँग्रेसमा ‘निर्णायक’ जीवनाथ फ्याक्टर

प्रशोधक
जनकपुरधाम, १३ मंसिर ।
धनुषा काँग्रेस र खासगरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को पार्टी राजनीतिमा कुनै पनि निर्णायक मोड आउने विषयमा कोही आकलन गर्न सक्छन् र त्यो अनुमान सत्य साबित हुन सक्छ भन्ने विषयका सर्वाधिक विश्वसनीय राजनीतिकर्मी हुन् जीवनाथ चौधरी ।

पार्टीका पछिल्ला राजनीतिक घटनाक्रममा निकै आरोहअवरोह आउँदा भित्तामा ठोक्किने हो कि भन्ने आशंका गरेकाहरूलाई उनले पार्टी महाधिवेशन प्रतिनिधिसम्मको यात्रा तय गरेर जिल्ल पारिदिए ।

कुनै बेला तत्कालीन जिल्ला विकास समितिका कनिष्ठ कर्मचारी रहेका जीवनाथ चौधरीले त्यहाँ हुँदैे आफ्नो राजनीतिक प्रभाव, पहुँच र पकड बनाउन आरम्भ गरेका थिए । जिल्लाभरिका जनप्रतिनिधि, विभिन्न दलका राजनीतिकर्मी र अगुवाहरूको आउजाउ भइरहने तत्कालीन जिविसका सभापति रामसरोज यादव हुँदा उनको जनसम्पर्क थप मजबुत बनेको थियो ।

केही वर्षयता काँग्रेस उपसभापति विमलेन्द्र निधिसँग निकै निकट रहेका जीवनाथको पार्टीका अर्का नेता रामसरोज यादवसँग पनि उत्तिकै घनिष्ठता रह्यो । उनको व्यापारिक प्रतिष्ठान जनकपुरधामस्थित होटल सीता प्यालेस यादवका लागि उठबस गर्ने नियमित थलो नै बन्यो ।

यादवकै कारण पनि काँग्रेसका धनुषा र प्रादेशिक नेताहरूको पुग्नैपर्ने ठाउँ बनेको सीता प्यालेसका जुनसुकै पार्टीगत राजनीतिक परामर्शमा जीवनाथको संलग्नतालाई नेता यादवले प्रोत्साहित गर्ने गरेका छन् ।

नेता निधिसँगको सामीप्य र रामसरोज यादवसँगको प्रगाढ आत्मीयताका कारण पार्टीका केन्द्रीय नेताहरूसँग पनि गहिरो सम्बन्ध बनाउन सफल भएका जीवनाथको राजनीतिक परामर्शको दायरा निकै विस्तृत रह्यो । उनको होटलमा आएर विधिइतर गुटका नेताहरूले पनि राजनीतिक जोडघटाउ गर्ने गरेका छन् ।

केही समययता निधि र रामसरोज यादवबीच सम्बन्ध चिसिएको आशंका गरिएका बेला भने जीवनाथ रामसरोजको कित्तामा प्रस्ट र निर्भिक भएर उभिएका थिए । जसको छनक जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ८ महाधिवेशनमा देखियो । जहाँ निधि पक्षका कथित समर्थकहरूविरुद्ध दलबलका साथ जीवनाथले उम्मेदवारी दिएका थिए । पार्टीका केन्द्रीय नेता आनन्दप्रसाद ढुंगानाले अन्तिम क्षणमा २५ क्रियाशील सदस्य थपिदिएपछि उनको प्यानल त्यस वडामा विजय पनि भयो ।

त्यहाँबाट निधि र रामसरोजको दुई गुटका बीच धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा हुने स्थिति देखिएपछि दुवै नेताबीच भेटवार्ता भएर विवाद साम्य भयो । संयोग नै थियो, त्यस वार्तापछि सार्वजनिक तस्बिरमा निधि र रामसरोज यादवसँगै जीवनाथ पनि देखिए उन्मुक्त मुस्कानका साथ ।

धनुषा क्षेत्र नम्बर ३ को प्रदेश र प्रतिनिधिसभा स्तरमा निर्विरोध निर्वाचन भएको छ । तिनमा निर्वाचित हुनेहरूको अन्तिम रूप दिनुपूर्व दुवै नेताले जीवनाथसँग परामर्श गरेका थिए ।

उनको सफलताको रहस्य के हो ? प्रशोधक डटकमको प्रश्नमा जीवनाथले भने,‘म डेढ दशकदेखि पार्टी संगठनमा सक्रिय छु । विमलजीका साथमा छु ।’


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!