अहिलेका


धनुषा काँग्रेस : पजियार समूहको जितबारे रामसरोज यादवको लेखाजोखा

धनुषा काँग्रेस सभापतिमा योगेन्द्र पजियार निर्वाचित हुने अड्कल छँदैथियो । पार्टीको आन्तरिक राजनीतिमा पछिल्ला समयमा देखिएका सत्ता र शक्ति अभ्यास, प्रभाव र वर्चस्वलाई परिणाममा अनुदित गर्ने खेल अनि समूहहरूका नेताकार्यकर्तालाई विभिन्न आश्वासन दिएर आफ्नो कित्तामा उभ्याउने प्रपञ्च आदिका कारण हरेक दृष्टिले बलियाबाङ्गा नै जित्ने अनुमान गरिनु अस्वाभाविक होइन ।

तर, पजियारको जितले भने पार्टीका शीर्ष नेता विमलेन्द्र निधि र रामसरोज यादवका लागि अन्तरपार्टी राजनीतिमा अत्यधिक दुर्बल हुने सम्भावना मत्थर भएको छ ।

प्रदेश सभापतिमा पराजित रामसरोज यादवका तीता अनुभव र विपक्षी खेमाबाट हुने सम्भावित रणनीतिक खेलमा सेँध लगाउने चातुर्य पनि पजियार जितको एउटा महत्वपूर्ण कारण रह्यो । केन्द्रीय चुनावदेखि प्रदेश निर्वाचनसम्ममा आशातीत सफलता हासिल गर्न नसकेर निराश भएका निधिसमेतले जिल्ला निर्वाचनलाई ‘प्रतिष्ठा’ को विषय नै बनाएपछि यादवको चुनावी कुशलताले थप उचाइ पाएकोमा शंका गर्न सकिँदैन ।
उसो त लामो पार्टीगत राजनीतिक पृष्ठभूमि नभएका पजियारलाई बोध थियो, ‘दौडधूप’ एउटा निर्णायक सुत्र हो चुनावी बाजी हातमा पार्न र उनले जिल्लाका सबै क्षेत्रका प्रायः प्रत्येक वडासम्म पुगेरै पार्टी नेताकार्यकर्तासँग मत माग्न भ्याए । पार्टीको लम्बिँदै गएको अधिवेशन मितिले पनि साधनस्रोत सम्पन्न पजियारलाई आफ्नो उम्मेदवारीका विषयमा अधिवेशन प्रतिनिधिहरूलाई बुझाउन मद्दत पुर्यायो ।

चुनावमा निधि र यादवले नेताकार्यकर्ताहरूसँग लबिङ्ग गरिदिँदा पजियारलाई जिल्ला भ्रमण गर्न थप सजिलो भएको अवस्था रह्यो । निधि पक्षको क्षेत्रगत मत आकलन सही, सटीक र यथार्थपरक थियो । प्रदेश अधिवेशन यस्तो आकलनको मेसो सिर्जना गरेको थियो । पहिलो चरणमा अग्रता लिने र दोस्रो चरणमा तेस्रो स्थानमा आउने विश्लेषण पजियारको उम्मेदवारी घोषणाबाटै भएको थियो । पार्टीको जिल्ला सभापतिका लागि पहिलो उम्मेदवारी घोषणा गर्ने पजियारलाई यसको लाभ पनि भएकै हो ।

सभापति पदका तीनै प्रत्याशीको दाबी थियो, ‘पार्टीलाई सदृढ, एक्यबद्ध र सहमतिका आधारमा अघि बढाउने क्षमता मसँग छ ।’ राजनीतिक र सांगठनिक अनुभव तीनै जनासँग थियो । जिल्ला नेतृत्व तहमा सन्तोष यादवको संलग्नता तुलनात्मक रूपमा बढी थियो भने पजियार र दिनेश परसैलाले पनि क्षेत्रीय अध्यक्षका रूपमा जिल्ला कार्यसमितिका पदेन सदस्यका भूमिका निर्वाह गरेका थिए । परसैला र पजियारसँग जनप्रतिनिधिकैे हैसियतमा काम गरेको थप अनुभव पनि थियो । अर्थात् तीनै उम्मेदवार संगठन हाँक्न सकनेगरी गतिला नै थिए ।

काँग्रेस नेता रामसरोज यादवको बुझाइमा समूहभित्र एकअर्काप्रति विश्वास, त्यागको भावना र उम्मेदवारी दिँदा नेताकार्यकर्ताको भावनालाई प्राथमिकता दिइएकाले धनुषा काँग्रेसमा उनीहरूको समूह स्थापित भएको हो । उनको भनाइमा नेताकार्यकर्तासँग निरन्तर सम्पर्क, सल्लाहसुझाव संकलन, जानकारीमा पहुँच, प्रतिक्रियाअनुसारका रणनीतिक कदमप्रति ध्यान दिइएकाले पजियार समूहले मतपरिणाम अनुकूल बनाउन सकेको हो ।

पहिलो चरणको चुनावमा जिल्लाका क्षेत्र नम्बर १, ३ र ४ बाट सोचेजस्तो मत पजियार समूहले प्राप्त गर्न सकेन । अपेक्षाअनुसार ती तीनवटा क्षेत्रबाट मत आएका भए पहिलो चरणमै जित हासिल गर्न सकिने नेता यादवको लेखाजोखा थियो ।

पहिलो चरणमा अग्रता लिएपछि पजियार समूह भने आत्मविश्वासी र उत्साही बनेको थियो । संस्थापनइतर मिलेर जाने पजियार र परसैला समूहको पूर्वसमझदारी थियो । तर, पहिलो चरणमा त्यो सम्भव हुन सकेन । दोस्रो चरणको चुनावमा भने परसैलाले औपचारिक रूपमै पजियारलाई समर्थन गरेपछि चुनावी अंकगणित पजियारतर्फ सोझिएको हो । यद्यपि जातीय एवम् व्यक्तिगत निकटताका कारण क्रसभोट हुने स्थिति वा पिरलो भने दुवै खेमामा थियो ।

खासगरी विमलेन्द्र निधिले आफ्नो पक्षलार्ई समर्थन गर्न संस्थापन पक्षधर नेता महेन्द्र यादवसँग फोनमार्फत गरेका कुराकानी बिनानिष्कर्ष टुंगिएपछि मत सम्हाल्ने र दोस्रो चरणमा समर्थन दिएका परसैला(कोइराला) पक्षका मत बटुल्ने चुनौती भने अत्यधिक बढ्यो । नेता यादवले चुनौती तमाम भए पनि काँग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले यस पार्टीका नेताकार्यकर्ता जातीय कारणले ध्रुवीकृत नहुने आफ्नो विश्वासले मतपरिणामबाट अनुमोदित भएको बताए ।

उनले पार्टीको आन्तरिक चुनावमा धाकधम्की र डरत्रास आदिबाट मतदाता प्रभावित नभएको पनि सुखद पक्ष रहेको सुनाए । उनले भने, ‘पार्टी विधानबाट चल्ने हो । त्यसैले आगामी निर्वाचनमा आन्तरिक चुनावको तुस रहँदैन ।’


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!