अहिलेका

धनुषा प्रहरीले फेला पार्यो चोरिएका बालक

प्रशोधक समाचारदाता
जनकपुरधाम, २१ असार ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ भ्रमरपुराचोकबाट पन्ध्र दिनअघि हराएको एक बालकलाई धनुषा प्रहरीले मंगलबार(आज) फेला पारेको छ । भारतको सीतामढी बैरगनिया प्रखण्ड घर भएका र हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ भ्रमरपुराचोकमा डेरा गरी बस्दै आएका हरिओम चौधरीको तीन वर्षीय छोरो सोहन चौधरीलाई महोत्तरी जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ४ बाट फेला पारिएको हो ।

जनकपुरधाम- ७ भ्रमरपुराचोकबाट हराएका बच्चा फेला परेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलन ।

सोहन दाजुभाइसँग भ्रमरपुराचोकमा खेलिरहेका बेला गत असार ६ गते बिहानबाट हराएका थिए । महोत्तरी प्रहरीले बालक फेला परेका ठाउँमा बस्ने ५५ वर्षीया मैथुन खातुनलाई पक्राउ गरेको छ । पक्राउ परेकी खातुनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बच्चा हराएको ठाउँ वरपरका सिसिटिभी फुटेज हेरी अनुसन्धान गर्दा सोही दिन बिहान छ बजेर ४० मिनेट जाँदा हरियो रंगको साडी लगाएकी एक अपरिचित महिलाले बच्चा चोरी गरी लगेको देखिएको र त्यसपछि महिलाको सनाखत नभए पनि फुटेजका आधारमा महिलाले लगाएकी कपडा तथा अन्य हुलियाका आधारमा खोजतलास तीव्र पारिएको बताए ।
उनले बच्चा चोरी गरी लगेको पहिचान गरिएको खातुनलाई धनुषाबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय सहोडबाको सहकार्यमा उनको घरठेगानाबाटबच्चासहित नियन्त्रणमा लिएको जानकारी दिए ।

पक्राउ परेकी महिलाउपरअपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दायर गरी अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलाले घरमा छोरो नभएकाले बच्चा चोरी गरेको प्रारम्भिक बयान दिएकी छिन्

बच्चाको खोजतलास गर्ने क्रममा प्रहरीले ५० वटाभन्दा बढी सिसिटिभी फुटेज अवलोकन गरेको डिएसपी दीपक रायले बताए ।

प्रहरी उपरीक्षक रजौरेले मधेस प्रदेश प्रहरी र सङ्घीय प्रहरी एकाइ जनकपुरको सहयोगमा जिल्ला प्रहरी कार्यालयले बच्चाको खोजतलास गर्न ५० जनाभन्दा बढी जनशक्ति खटाएको बताए । उनले अनुसन्धानक्रममा इन्टेलिजेन्स, प्रविधि, सञ्चार आदि विभिन्न कार्यका लागि छुट्छुट्टै प्रहरी टोली खटिएको जानकारी दिए । उनले भने, ‘प्रविधि र इन्टेलिजेन्स दुवैका कारण बच्चालाई फेला पार्न सकिएको हो ।’

जनकपुरधाम -७ भ्रमरपुराचोकबाट हराएको बच्चा चोरी अभियोगमा पक्राउ परेकी मैथुन खातुन ।

केही समययता जनकपुरधामबाट दुई–तीन दिनको अन्तरालमा बच्चा चोरी हुने र प्रहरीले बच्चा फेला पार्ने काम हुँदैआएको छ । प्रहरीका अनुसार अभिभावकको हेलचेक्रयाइँका कारण बच्चा चोरी गर्नेहरूलाई सजिलो भएको छ ।

प्रहरी उपरीक्षक रजौरेले बच्चा चोरीका घटनामा अहिलेसम्म मानव बेचबिखन गर्ने उद्देश्य नदेखिएको बताए । तर, त्यस दृष्टिले पनि घटनाको अनुसन्धान भइरहेको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!