अहिलेका


धनुषा ३ को क : रामसरोज नै जित्ने दाबी किन गरिँदैछ ?

प्रशोधक समाचारदाता
जनकपुरधाम, कात्तिक ३० गते ।
धनुषा क्षेत्र नम्बर ३ को क मा पाँचदलीय गठबन्धनबाट प्रदेशसभा सदस्य उम्मेदवार रामसरोज यादवका पक्षमा जनलहर देखिएको छ । अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका यादवले प्रदेश सांसददेखि मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए ।

‘सांसददेखि मन्त्रीसम्मको यात्रामा उनले क्षेत्रमा सडक, सिँचाइ, खानेपानी, सामुदायिक विद्यालयको स्तरोन्नति, स्वास्थ्य संस्थाहरूमा साधनस्रोत व्यवस्थापनका लागि निरन्तर काम गरे, त्यसैले क्षेत्रका जनताले निर्धक्क भएर उनलाई जिताउनेछन्,’ मुखियापट्टी मुसहरनियाँका यादवले भने ।
यस क्षेत्रमा जसपा–नेकपा एमाले गठबन्धनबाट जसपा नेपालका जितेन्द्र यादव प्रदेशसभा उम्मेदवार छन् । जनमत पार्टीबाट डा.प्रसन्न झा प्रदेशसभा सदस्यका अर्का उम्मेदवार हुन् । रामसरोजका तुलनामा उनीहरू अब्बल उम्मेदवार मानिँदैनन् ।

तत्कालीन पञ्चायती व्यवस्थामा प्रजातन्त्र पुनसर््थापनाको आन्दोलनमा सानैदेखिको संलग्नता, शाही सत्ताविरुद्ध जनआन्दोलनमा क्रियाशीलता र पछिल्ला मधेस विद्रोहमा सरिक हुँदै राजनीतिक जीवनको महत्वपूर्ण हिस्सा राजनीतिक परिवर्तनको लडाइमा बिताएका यादव परिपक्व, सुझबुझ भएका र अनुभवी नेता मानिन्छन् । ‘आफ्नो सिद्धान्त, विचार र दृष्टिकोणप्रति अटल र अविचलित राजनीतिक यात्रा नै उनको पूँजी हो,’ धनौजी गाउँपालिका भररियाका सावित्री श्रेष्ठ भन्छिन्, ‘सबैखाले संकीर्णताबाट माथि उठेर जनताका समग्र हितमा काम गर्ने आनीबानी नै उनका लागि सबैभन्दा ठूलो मताधार भएको छ ।’

रामसरोज पञ्चायतकालमा यस क्षेत्रको एउटा इलाकाबाट तत्कालीन जिल्ला पञ्चायतमा इलाका सदस्य भएका थिए । नेपाली काँग्रेसको पञ्चायती चुनावलाई उपयोग गर्ने नीतिअन्तर्गत पार्टीका तर्फबाट निर्दलीय उम्मेदवार बनेका उनी प्रजातन्त्र पुनसर््थापनापछि २०४९ सालमा भएको स्थानीय तह निर्वाचनमा जिल्ला विकास समिति सभापति समेत भएका थिए ।

नेपाली काँग्रेस धनुषाको दुईपटक कुशलतापूर्वक नेतृत्व गरेका रामसरोजको मुख्य प्रतिस्पर्धा अहिले क्षेत्रका लागि नयाँ र अपरीक्षित उम्मेदवारहरूसँग भइरहेको छ । क्षेत्रबाट जितेर राष्ट्रिय र प्रादेशिक राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्दै आएका रामसरोजलाई हुनसक्छ । चुनावभन्दा बाहेकका बेला पनि क्षेत्रका प्रत्येक घरदैलासम्म पुग्ने उनको अभ्यासले उनलाई लाभान्वित बनाउन सक्छ ।जसपाका उम्मेदवार जितेन्द्र चुनावका लागि टिकट पाउनुभन्दा केही दिनअघिसम्म मुख्यमन्त्री लालबाबु राउतका पिए थिए भने त्यसअघि उनी पूर्वाञ्चल विश्वविद्यालय विराटनगरमा कार्यरत थिए । मधेस विद्रोहका बेला उपेन्द्र यादवका सम्पर्कमा आएका उनी उपेन्द्रसँग हिमचिम बढाउँदै केपी ओली सरकारमा स्वास्थ्य मन्त्री हुँदा उपेन्द्रका पनि पिए बनेका थिए । तर पिएका रूपमा जितेन्द्रका केही काम विवादास्पद भएपछि उपेन्द्रले उनलाई तत्कालीन प्रदेश २ का मुख्यमन्त्री राउतका पिए बन्न जनकपुरधाम पठाएका थिए ।

मन्त्री वा मुख्यमन्त्रीका पिए हुनु भनेको राजनीतिक आहोदा होइन, राजनीतिक आहोदावालका सहयोगी हुनु हो । यो एक किसिमको जागिर हो । चार वर्षसम्म जागिर खाने अनि त्यहाँबाट चिनजान र शक्ति आर्जन गरेर सीधा आफू कहिल्यै नबसेको क्षेत्रमा चुनाव लड्न जानु जितेन्द्रका लागि जोखिमपूर्ण काम भएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ । तर, चुनाव लड्दा पार्टीभित्र नेताको छवि बनाउन सकिने बुझाइका कारण पनि उनले टिकटका लागि मरिहत्ते गरेका हुन् । यसो पनि धनुषा ३ जसपा नेपालका लागि उर्वर भूमि होइन ।
मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा पूर्वकाँग्रेसी नेतालाई जसपामा ल्याएर चुनाव जिताउन अग्रणी मोर्चामा रहेका जितेन्द्रले भने प्रदेश ३ को क मा अन्य कुनै नगरपालिकामा जसपा नेपाललाई सफलता दिलाउन सकेनन् । स्थानीय निर्वाचनमा स्टार प्रचारक भएर हिँडेका उनले तत्कालीन पाँचदलीय गठबन्धनबाट जसपाका उम्मेदवार लालकिशोर साहलाई मेयर पदमा निकटतम प्रतिद्वन्द्वी बन्ने लालसासमेत पुरा गराउन सकेनन् ।

यता जनमत पार्टीका उम्मेदवार डा.झा पेसाले चिकित्सक भएको र राजनीतिमा नयाँ भएकाले पनि जनतालाई पत्याउन कठिन भएको क्षेत्रवासीको भनाइ छ । विगतमा चिकित्सा र अन्य पेसागत क्षेत्रबाट आएकाहरू जनप्रतिनिधि हुँदा जनताका गुनासा नसुन्ने र आफ्नो पेसाप्रति मात्र ध्यान दिने अनुभव मतदाताको छ । त्यसैले जनताका लागि एक्कासि निर्वाचनमा होमिएका डा.झालाई मतदान गर्ने कुरामा अन्योल हुन सक्छ ।

गत स्थानीय तह निर्वाचन परिणामलाई आधार मान्ने हो भने क्षेत्र नम्बर ३ को क मा नेपाली काँग्रेसको मत बढी छ । पाँचदलीय गठबन्धनमा भएका लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगायत अन्य दलका मत प्राप्त भएमा रामसरोजको सहज जित हुने आकलन गरिएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!