जनकपुरधाम, ११ कात्तिक ।
दीपावली पर्व आउन केही दिन मात्र बाँकी छ । त्यसअघि धनत्रयोदसी व्रत अर्थात धन्तेरस हुन्छ । यसपटक कात्तिक १६ गते धन्तेरस मानिनेछ ।
धन्तेरसका दिन माता लक्ष्मी, कुबेर र देवताको वैद्य भगवान् धन्वंतरिको पूजाआजा पूरा विधिविधानपूर्वक गरिन्छ ।
मान्यताका अनुसार धन्तेरसका दिन केही यस्ता सामग्री किनमेल गरेर घर ल्याउँदा माता लक्ष्मी प्रसन्न हुन्छिन् र घरमा धनको कुनै कमी रहँदैन ।
धेरैजसोले यस दिन सुनचाँदीका सिक्का र भाँडाबर्तन किन्ने गर्छन् । जो सुनचाँदी किन्न सक्दैनन् उनीहरूले पितलको भाँडाकुँडा किनेर त्यसमा गुलिया वस्तु वा चामलका दाना राखेर घर ल्याउँदा धनधान्यको अभाव हुँदैन ।
यस दिन झाडू किन्नुलाई शुभ मानिन्छ । झाडू माता लक्ष्मीकै स्वरूप भएकाले यस्तो मान्यता छ कि धन्तेरसका दिन झाडू किनेर घर ल्याउँदा स्वयं माता लक्ष्मीकै गृहप्रवेश हुन्छ ।
