अहिलेका


धुलोधुँवाले आजित सिरहाको मिर्चैयावासीले गरे राजमार्ग अवरुद्ध

प्रशोधक समाचारदाता / सिरहा, १३ चैत ।
सुख्खा मौसममा धुलो र धुवाँ अनि बर्खाका बेला हिलोपानीका कारण पूर्वपश्चिम राजमार्गको यात्रा सकसपूर्ण भएपछि सिरहाको मिर्चैयावासीले आन्दोलन थालेका छन् । राजमार्गको मिर्चैयाखण्डमा ठाउँठाउँमा उप्किएका भत्किएका तथा गहिरा खाल्डाखुल्डी परेका सडक निर्माण तथा मर्मतसम्भारका लागि सम्बद्ध निकायहरूले चासो नलिएपछि स्थानीय आन्दोलित भएका हुन् ।

सडक तत्काल कालोपत्रे गर्न माग गर्दै सयौँका सँख्यामा स्थानीयले आइतबार बिहान एक घण्टा राजमार्ग अवरुद्ध पारेका छन् । स्थानीयले राजमार्ग अवरुद्ध गरेपछि राजमार्गमा सवारीसाधनको लाम नै लागेको थियो ।

सिरहाका पत्रकार विनय यादवका अनुसार राजमार्गको बिग्रिएको अवस्थाका कारण दुर्घटनाको जोखिम बढेको छ भने धुवाँधुलोले राजमार्गमा हिँडडुल तथा यात्रा गर्न कठिन भएको छ । सडकका कारण स्थानीय व्यवसायमा प्रतिकूल असर पर्नुका साथै मिर्चैयावासीमा स्वास्थ्यसम्बन्धी समस्याहरू समेत देखा पर्न थालेका छन् ।

मिर्चैयाको सडक लामो समयदेखि जीर्ण छ । यहाँका मारुती सिमेन्ट उद्योग र शौर्य सिमेन्ट उद्योगका लागि दैनिक चल्ने हजारौं ओभरलोडेड टिपरका कारण सडकबाट कालोपत्रे हराएको छ । यसैकारण सडकमा ठूल्ठूला खाल्डा परेका छन् ।

मिर्चैयामा सतह ढल निर्माण गरिरहेको विकोइ बिल्डस् योेगी जेभीले खाल्डो खन्ने तर पुनर्निर्माण नगर्ने कारणबाट पनि सडक थप दुरवस्थामा पुगेको हो ।

सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म ८७ किलोमिटरको चार लेन सडक निर्माण गरिरहेको चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले सडकमा पानी समेत छर्कन ढिलासुस्ती गर्दा स्थानीयलाई पीडा अझ आलो हुने गर्दछ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!