जनकपुरधाम, ३ मंसिर ।
हँसपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी जनप्रतिनिधिहरूका लागि टाउकोदुखाइ बनेका छन् ।
नगरपालिका प्रमुख रामज्ञान मण्डललगायत अन्य जनप्रतिनिधिहरूका नीतिगत निर्णय कार्यान्वयनमा अटेर गरिरहेका उनले पछिल्ला दिनमा जनप्रतिनिधिलाई नै बदनाम तथा मानमर्दन गर्ने काममा संलग्न भइरहेको आरोप लागेको छ ।
नगरप्रमुख मण्डलले प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अवैधानिक तथा अनियमित काममा अंकुस लगाउन खोजेकाले अधिकारीले मण्डलविरुद्ध षड्यन्त्र र जालझेल गरिरहेको जनप्रतिनिधिको बुझाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत अधिकारीले नगरपालिकामा कार्यरत केही कर्मचारीहरूलाई बिनाकारण पदमुक्त गरी आफूनजिकका मानिसलाई भर्ना गरेका छन् । उनले नियमविपरीत आफूनिकटका मानिसलाई भर्ना गरेपछि नगरप्रमुखलगायत जनप्रतिनिधिसँग उनको विवाद बढेको छ ।
‘जनताबाट अनुमोदित प्रतिनिधिलाई सघाउनुको सट्टा अधिकृत अधिकारी पूर्वाग्रही भएर नगरकार्यपालिका लगायत वडा कार्यालयहरूका कामकाज अवरुद्ध गराएका छन्;’ वडा नं. ३ का अध्यक्ष उदय सिंहले भने, ‘गएको धनवन्तरी दिवसका दिन मेयर मण्डलको अनुपस्थितिमा कार्यपालिका बैठक गरेर अधिकृत अधिधकारीले विवादित निर्णयहरू गराएका छन् ।’
वडाध्यक्ष सिंहका अनुसार प्रमुख प्रशासकीय अधिकृत अधिकारीले व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि आर्थिक सहयोगसम्बन्धी निर्णय गराएका हुन् । उनले भ्रमणका लागि छुछुट्याइको पाँच लाख रुपैयाँ जनही २५ हजारका दरले नगद वितरण गर्ने निर्णय गराएको आरोप वडाध्यक्ष सिंहले आरोप लगाए ।
उनले मेयर मण्डलसित प्रतिशोध साँध्न बिहीबार चार नगर प्रहरीलाई हटाएका छन् । प्रक्रिया पूरा गरेर भर्ना गरिएका नगर प्रहरीलाई हटाएर उनले आफ्नो निकटका व्यक्तिहरूलाई काममा लगाएको नगर प्रहरी मुकेश राउतले आरोप लगाए ।
काममा लगाएका व्यक्तिहरुलाई उनी सुरक्षा गार्डका रूपमा सँगै राख्ने गरेका छन् ।
हँसपुर नगरपालिकाका समाजसेवी भन्दै जय यादवले नगरपालिकामा कोही कर्मचारी भर्ना नगरिएको भन्दै समाचार प्रकाशन गर्ने अनलाइन मिडियाको सत्तोसराप गरेका छन् ।
