जनकपुरधाम, ८ कात्तिक ।
जनता समाजवादी पार्टी(जसपा) नेपालका नेता राजकिशोर यादव यतिबेला आफ्नो निर्वाचन क्षेत्रसहित मधेसका जिल्लाहरूमा सक्रिय छन् । केपी ओली सरकारको उतराद्र्धमा केही दिनका लागि मन्त्री बनेर आलोचित बनेका यादव सरकार पतनसँगै उपेन्द्र यादव पक्षको जसपामा फर्केका थिए ।
साबिकको जसपा नेपालभित्र उपेन्द्र यादव र महन्थ ठाकुरबीच सांसद तथा पार्टी कार्यकारिणी सदस्य तानातान हुँदा तटस्थताका नाममा अस्थिर, ढुलमुल र अन्योलपूर्ण राजनीति गरेको आरोप नेता राजकिशोरमाथि लागेको थियो ।
‘उहाँ पार्टीभित्र आफ्नो राजनीतिक साख फर्काउन पनि अहिले निकै सक्रिय हुनुभएको छ । खासगरी नेताकार्यकर्तामाझ पकड बनाउन संगठन विस्तारमा लाग्नुभएको छ,’ सिरहाका एक जसपा नेताले बताए ।
जसपा सिरहामा नेताकार्यकर्ताहरूबीच तीव्र ध्रुवीकरण छ । विभिन्न गुट र उपगुटमा विभाजित पार्टीका अधिकांश नेताहरूले पूर्वमन्त्री तथा सिरहाबाटै प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता राजकिशोरको कार्यशैली मन पराउँदैनन् । तर उनको पछिल्लो सक्रियता र बदलिएको व्यवहारपछि क्रमिक रूपमा विश्वासको वातावरण बन्दै गएको दाबी राजकिशोर पक्षका कार्यकर्ताहरूको छ ।
नेता यादवलाई चाडबाडको मौसमले पनि सघाएको छ । उनी लोकआस्थाका महान् पर्वहरूको अवसर पारेर जिल्ला दौडाहामा छन् । अरू बेला अन्य काममा व्यस्त रहने वा गाउँघर बाहिर काम गर्ने जनता पनि यतिबेला घर फर्केका छन् । उनीहरूसँग शुभकामना आदानप्रदान तथा राजनीतिक एवम् सामाजिक विषयमा भलाकुसारी गर्ने साइत पनि नेता यादवलाई जुरेको छ ।
उनी हिजोआज ग्रामीण भेगका गाउँहरूमा कार्यकर्ता भेटघाट गर्ने, विकास निर्माणका काम अवलोकन गर्ने तथा विकासका सम्भावनाका विषयमा संवाद कार्य गरिरहेको उनीनिकट एक कार्यकर्ताले बताए ।
पार्टी प्रवेशलाई पनि उनले उत्तिकै प्राथमिकता दिएको देखिएको छ । जिल्लामा एक साताको बसाइमा उनले विभिन्न पार्टीका तथा स्वतन्त्र रहेर स्थानीय स्तरमा पकड बनाएका नेताहरूलाई पार्टीमा भित्र्याएका छन् ।
