अहिलेका


नयाँ मधेसी दलको जन्म सुनिश्चत छ : डा.विजयकुमार सिँह

(विचार/आलेख)

डा.विजयकुमार सिँह

संविधानसभाबाट जारी संविधानअन्तर्गत निर्वाचित विभिन्न तहका सरकारहरूका कार्यअवधि अब समाप्त हुन लागेका छ । र, यी सरकारहरू गठनका लागि निर्वाचन प्रक्रियातर्फ देशको राजनीति उन्मुख भइरहेको छ ।

जारी हुँदाताका सर्वोत्कृष्ट भनिएको अहिलेको संविधानका सफलता– विफलताका निष्पक्ष विश्लेषण, चिन्तनमनन एउटा महत्वपूर्ण विषयवस्तु त छँदैछ तर यसको कार्यान्वयन र समुचित परिमार्जन गर्ने प्रमुख जिम्मेवारी निश्चित रूपले राजनीतिक दलहरूकै थियो र छ नै ।

संविधानका निर्माता और प्रमुख कर्ताधर्ता सत्तासीन र प्रमुख प्रतिपक्षी राजनीतिक दलहरूसँगै नयाँ संविधानमा संघीयताको अवधारणाले मूर्त रूप पाएको दाबी गर्ने मधेसका जनआन्दोलनबाट जन्मिएका र सम्वद्र्धन प्राप्त गरेका मधेसी दलहरूको स्थिति आज के छ ?

नेपालका सबैभन्दा लामो, कडा, सघन र महत्वपूर्ण पीडा तथा सहादत दिइएको महान् मधेस आन्दोलनसँग प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा जोडिएका राजनीतिकर्मीसहित सम्पूर्ण नागरिक समाजको जिज्ञासा ती दलसँग स्वाभाविक छ । यी मधेसवादी दलका दशा र दिशाबारे तिनलाई अवगत पनि छ ।

बहुदलीय प्रतिस्पर्धात्मक राज्यप्रणालीमा दलहरूभित्र आन्तरिक प्रजातन्त्र, समावेशिता र जनसहभागिताको महत्वपूर्ण सुनिश्चितता स्थायी राजनीतिक एवम् दीर्घकालीक लोककल्याणकारी उपलब्धिका लागि आवश्यक हुन्छ । नेपाल र खासगरी मधेसवादी दलहरूका सन्दर्भमा यो अनिवार्यजस्तै छ ।

ठूला दलहरूका बहुमतीय तानाशाहीका तानाबाना र जालझेलमा कमजोर अल्पमतीय अधिकारवादी दल फसेर विवश तथा अक्षमजस्तै हुने गरेका छन् । सत्ता वा पैसा एवम् पदका लोभमा नेतृत्व तिनै शासक दलहरूका पिछलग्गू बन्ने गर्छन् जसका विरुद्ध निषेध आन्दोलनसम्म गरेका थिए र आन्दोलनकारी सर्वसाधारण समेतले अमूल्य सहादत दिएका थिए ।

महत्वपूर्ण आवश्यक्ता भने मधेसमा वृहत् राजनीति शक्ति निर्माण र मर्यादित दलीय संस्कृति तथा सरंचनाको थियो । संयुक्त मधेसी मोर्चा (तमलोपा, मजफो र सद्भावना) को महत्वपूर्ण आन्दोलन र तत्कालीन कार्यवाहक राष्ट्रप्रमुख, नेपाल सरकार प्रमुख र सात दलीय गठबन्धन प्रमुखका बीच भएको ८ बुँदे समझौतापछि त्यसलाई आशा जागेको थियो ।

मधेसी जनआन्दोलनका रापतापले नेपाल र विशेषगरी मधेसका नेतागणका मनःस्थिति, चिन्तन, बानी र आचारव्यवहारमा परिवर्तन ल्याउने र पद ,पैसा तथा व्यक्तिगत मानसम्मानका ठाउँमा इमान्दार र स्वस्थ प्रजातान्त्रिक दलीय चरित्र, पारदर्शी निर्णय प्रक्रिया र समावेशी सहभागिताको परम्परा सुरुवात हुन्छ भन्ने लागेको थियो । अन्ततोगत्वा यस्तो हुन सकेन ।

सहिदहरूका शवको बोझमुनि थिचिएका मधेसवादी दलहरूले विभिन्न किसिमका स्वार्थवश अनेकन् बहानामा नैतिकतालाई ताकमा राखी काँधमाथि राखिएको जुवालाई सुरुमा बिस्तारै–बिस्तारै र पछि निर्लज्जताको बर्को ओढ्दै एक झमटमै झुत्रोझाम्रो बनाए ।

मधेसी पार्टीका शीर्ष नेताहरूका समाजवादउन्मुख कम्युनिस्ट नेताहरूका हाइकमान संस्कृति वा सर्वसत्तावादकेन्द्रित अधिकार सहज, सुखद और मनभावन लाग्न थाल्यो । फेरि मधेसी दलका यी “सुप्रिमो “दलका विधानमात्र होइन किं विचारधारा पनि बने ।

यिनले आफ्ना केही सल्लाहकार र सत्ताशक्ति साझेदारहरूका साथ बसी आफ्ना हितअनुकूल निर्णय लिने गर्छन् र कहिलेकाहीँ पार्टीका सुशोभन वा देखाउनका लागि बनाइएका विभिन्न एकाइ वा समितिहरूद्वारा ती निर्णयलाई अनुमोदन गराउने औपचारिकता वा बाध्यताको स्थिति सिर्जित पनि गर्ने गर्दछन् ।

पार्टीका अन्य नेता, भुइँ कार्यकर्ता  एवम् सदस्यबाट यो अपेक्षा गरिन्छ कि उनीहरूले जुनसुकै परिस्थितिमा तिनका निर्णयलाई पालन गरुन् र शिर झुकाई उनीहरूका जिहजुरी गरुन् । यस्तो नभए वा नगरिए शीर्ष नेतृत्वलाई चुनौती दिएको र बगावत मानिन्छ । यतिमात्र कहाँ हो र उनीहरूलाई शंकाको घेरामा राखी विभिन्न क्रियाकलाप तथा गतिविधिमा सहभागिताका लागि अयोग्य मान्ने गरिन्छ ।

लाञ्छित, अपहेलित गरेर एउटा कुनामा धकेलिन्छ । यस तरिकाले पार्टीमा आन्तरिक लोकतन्त्रलाई फक्रिन दिइएको छैन ।

मजबुत संगठन, स्तरीय प्रजातान्त्रिक निर्णय प्रक्रिया, समावेशी सहभागिता, अल्पमतका समुचित विचारको कदर, विविधतापूर्ण समायोजनका लागि सम्मानजनक स्थान र सबैभन्दा महत्वपूर्ण भ्रष्टाचार र अनैतिक क्रियाकलापहरूका विरूद्ध उठ्ने आवाजलाई दबाउने गरिएको छ ।

आफ्ना सक्रिय इमान्दार सहकर्मीहरूलाई किनारा लगाउँदै पार्टीहरू आफै खुम्चिन थालेका छन् । आमजनतासँग अलगथलग पर्दै गएका छन् । अब त स्थिति यस्तो छ कि मधेस आन्दोलनका राजनीतिक अनुहार, एउटा महत्वपूर्ण आयामको अस्तित्व नै गुम्ने दुःखद सम्भावना देखिँदैछ ।
तर, यो असम्भवजस्तै छ ।

मधेस आन्दोलन, जसलाई जनजनका अपनत्व प्राप्त छ र जसलाई उत्कर्षमा पुर्याउनका लागि मधेसी जनसमुदायले जेलनेल र शारीरिक, मानसिक प्रताड़नासहित ठूल्ठूला कुबार्नी दियो, अनेकौं अमूल्य सहादत दियो, निश्चित रूपले आफ्नो राजनीतिक चेहराका ध्वजवाहक स्थापित गर्छ नै ।

मधेस आन्दोलन कुनै पानीको फोका होइन, हवाको क्षणिक झोंका पनि होइन, यसको जड़ अत्यन्त गहिरो छ । र युवा पिढ़ी मधेसका अधिकार, पहिचान र सम्मानका मुद्दा तथा मूल्यमान्यताप्रति सम्पूर्ण रूपले समर्पित छन् ।

अतः संघीय गणतन्त्र नेपालअन्तर्गत मधेसी राष्ट्रियताको गर्भबाट एउटा सुसंस्कृत, समावेशी र सुपरिणाम दिन सक्षम तथा जनभावनासँग जोडिएको पार्टीको जन्म सुनिश्चित छ ।

अनन्त शुभकामना र समर्थनको प्रतिबद्धता ।

(लेखक संविधानसभा सदस्य हुन् । उहाँको यो विचार हिन्दी भाषाबाट अनुदित गरिएको छ)

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!