अहिलेका

नागरिकता विधेयक प्रमाणीकरण नहुनु विधायिकाको अपमान हो : मन्त्री साह

प्रशोधक समाचारदाता
जनकपुरधाम, असोज ६ गते ।
जनता समाजवादी पार्टी(जसपा) नेपालका नेता एवम् मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले संविधान उल्लंघन गरेको आरोप लगाएका छन् । उनले राज्यका कामकाज संविधान र कानुनअनुसार स्थापित विधि तथा प्रक्रियाबाट हुनुपर्नेमा विधायिकाले दोस्रोपटक पारित गरी राष्ट्रपतिकहाँ पठाइएको नागरिकता विधेयक समय सीमाभित्र प्रमाणीकरण नहुनु संसद्को अपमानसमेत भएको बताए ।

बिहीबार जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै नेता साहले अहिलेको संविधानमा राष्ट्रपति आलंकारिकमात्र भएको उल्लेख गर्दै संवैधानिक रूपमै व्यवस्थापिका र कायपालिकाप्रति उत्तरदायी राष्ट्रपति संस्थाले संवैधानिक प्रक्रियाविपरीत काम गर्दा मुुलुक जटिल संवैधानिक संकटमा फस्ने उल्लेख गरे ।

उनले भने, ‘संसद्बाट पारित विधेयकलाई राष्ट्रपतिले एकपटक संसद्मा पुनर्विचारका लागि पठाउन सक्ने संवैधानिक व्यवस्था छ । तर दोस्रोपटक संसद्बाट पारित विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने हुन्छ । यसविपरीत संसद्बाट दोस्रोपटक समेत पारित नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्नु संविधानको उल्लंघन गरिनु हो,’ मन्त्री साहले भने, ‘राष्ट्रपतिबाट संविधानको उल्लंघन हुने स्थितिबाट संसदीय सर्वोच्चता संकट परेको छ ।’

उनले शक्ति सन्तुलन र पृथकीकरणका आधारमा लोकतान्त्रिक राज्य सञ्चालन हुने र राज्यका सबै संस्थाका लागि फरक–फरक भूमिका निर्धारण गरिएको उल्लेख गर्दै कानुन बनाउने जिम्मेवारी संसद्को भएको नबिर्सन राष्ट्रपतिलाई सुझाए ।

मन्त्री साहले संसद्ले पारित गरी पठाएको विधेयकका प्रावधानप्रति चित्त नबुझे राष्ट्रपतिले राजीनामा दिन सक्ने बाटो रहँदारहँदै पनि जबर्जस्ती गरिनुले संविधानको सही कार्यान्वयनमा राष्ट्रपति संस्थाको चासो नरहेको प्रस्ट भएको बताए । उनले भने, ‘यसले राष्ट्रपति संस्था स्वेच्छाचारी र निरंकुश बन्न खोजेको संकेत दिन्छ ।’

मन्त्री साहले राष्ट्रपतिमा दलीय संकीर्णता र मोह चुलिएको भन्दै आलंकारिक संस्था महत्वाकांक्षी हुँदा संस्थाकै गरिमा घट्ने जिकिर गरे । उनले राष्ट्रपतिको पछिल्लो असंवैधानिक कदमका बारेमा न्यायिक निरुपण हुनुपर्ने पनि बताए ।

जसपा नेता साहले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा हजारौँको सँख्यामा नागरिकता प्रमाणपत्रविहीन नेपाली नागरिकको जनजीवन कष्टकर र भविष्य अन्योलमा परिरहेको भन्दै जनतालाई अनागरिक बनाउने कुत्सित मानसिकताविरुद्ध लड्नुपर्ने बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!