अहिलेका


नातागोतालाई प्राथमिकता दिएकोप्रति सांसद मन्जु यादव आक्रोशित

जनकपुरधाम, २ कार्तिक ।

नवगठित नेकपा एकीकृत समाजवादीले विस्तार गरेको केन्द्रीय कमिटी र कार्यविभाजनप्रति प्रदेश २ का सांसद मञ्जु यादवले आक्रोश व्यक्त गरेकी छिन् ।

केन्द्रीय समिति विस्तार र कार्यविभाजनमा नातागोतालाई प्राथमिकता दिएको भन्दै उनले समाजिक सञ्जालमा आक्रोश हुँदै स्टेटस् लेखेर असन्तुष्टि व्यक्त गरेकी हुन् ।

मापदण्ड बनाएर केन्द्रीय सदस्य छनोट गरिएको पार्टीले बताए पनि त्यो मापदण्ड व्यक्ति विशेषमामात्र लागू गरिएको यादवले बताइन् ।

प्रदेश २ बाट महिलालाई केन्द्रीय कमिटीमा मनोनयन नगरिएको, माथिल्लो कमिटीमा आफू बसेर तल्लो कमिटीमा नातागोतलाई मनोनित गर्ने प्रवृत्तिले अन्ततः पार्टीलाई क्षति पु¥याउने उनको भनाइ छ।

एकीकृत समाजवादी प्रदेश २ को ‘दलाल’ प्रवृत्तिका पुरुषका लागि मात्र भएको उनको आरोप छ ।

उनले सामाजिक सञ्जालमा यस्तो लेखिन्– ‘प्रदेश २ भनेको यस पार्टीका लागि दलाल प्रवृत्ति भएको पुरुषका लागि मात्र हो ?,’ कसैको नाम उल्लेख नगरी उनले भनिन्,‘माथिल्लो कमिटीमा आफू बस्ने अनि तल्लो कमिटीमा श्रीमती, साली र नातागोतालाई मनोनित गर्ने ?’

पार्टीको वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित भएकी उनले माथिल्लो कमिटीमा रहेका नेताहरूलाई चुनाव लडेर देखाउन चुनौती पनि दिएकी छिन् ।

‘चुनौतीका साथ भन्छु आउने चुनावमा माथिल्लो कमिटीमा बसेका नेताहरू प्रतिनिधिसभाको चुनावमा टिकट लिने आँट गरोस्,’ उनी भन्छिन्,‘हामी जस्ता महिलाहरू कसैको दास होइनौं । हुन सक्दैनौं।’


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!