जनकपुरधाम, २ मंसिर ।
नेपाली काँग्रेसका नेता रामसरोज यादवले पार्टी उपसभापति विमलेन्द्र निधि पक्ष छाड्ने भएका छन् ।
बुधबार गृहगाउँ धनुषाको मुखियापट्टी मुसहरनियाँमा निधिपक्षीय भनिएका सुनिल झा ‘मिल्टन’ का समर्थकहरूले चर्काबाजी नारा र हुलहुज्जत गरेपछि उनले पार्टीको आन्तरिक राजनीतिमा निधि पक्ष छाड्ने भएका हुन् ।
बुधबार पार्टीका मुखियापट्टी मुसहरनियाँका वडा अधिवेशनमा एकपक्षीय निर्णय गर्न थालेको आरोपमा पार्टीका स्थानीय नेताकार्यकर्ताहरूले प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका यादवविरुद्ध नाराबाजी गरेका थिए ।
मिल्टन समर्थकहरूले वडा अधिवेशनक्रममा राम सरोज यादव मूर्दावाद, विमलेन्द्र निधि जिन्दावाद र निधि हराउने रामसरोज’ जस्ता नारा लगाएको बताइन्छ । गत आम निर्वाचनमा धनुषा ३ बाट प्रतिनिधिसभा उम्मेदवार निधिलाई धनुषा ३ को १ बाट प्रदेशसभा सदस्यको चुनाव जित्न यादवले भूमिका निर्वाह गरेको कार्यकर्ताहरूको आरोप थियो ।
‘सामान्य राजनीतिक शिष्टाचार, मर्यादा र पद्धतिविपरीत वडा अधिवेशनमा तनाव सिर्जना हुने गरी निधिजीनिकटका कार्यकर्ताहरू प्रस्तुत भए । त्यसैले उहाँको गुट छाड्ने विषयमा विचार गर्दैछु,’ नेता यादवले बिहीबार बिहान प्रशोधक डटकमसँग भने,‘वडा अधिवेशनका क्रममा सामान्य विवाद भए पनि मविरुद्ध अनर्गल प्रचारबाजी गरिएको छ ।’
उनले परिस्थितिमा बदलाव नआए निधिजीसँग कित्ताकाट गर्ने मनस्थितिमा आफू रहेको बताए । नेता यादवले भने निधि गुट छाडि नै सक्ने घोषणा अहिले नगरेको स्पस्ट पारे ।
काँग्रेस सभापतिमा उम्मेदवारी दिने उपसभापति निधिको निर्णयका बेला निकै सक्रिय देखिएका नेता यादव केही समययता उनको पक्षमा लबिंग गर्ने कुरामा सुस्त देखिएका थिए ।
पार्टी सभापति शेरबहादुर देउवानिकट संघीय गृहमन्त्री बालकृष्ण खाणको स्वागतमा केही दिनअघि यादवका सल्लाहकार जीवनाथ चौधरी अध्यक्ष रहेको मैथिली विकास कोषले तामझामका साथ कार्यक्रमसमेत आयोजना गरेको थियो ।
