अहिलेका


निधि, सिँह र कोइरालाबीचको भेटले बालुवाटारमा तनाव !

काठमाडौं, १८ असोज ।
नेपाली काँग्रेसको आसन्न महाधिवेशन तयारीक्रममा पार्टीका तीन शीर्ष नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिँह र शाशांक कोइराला पटकपटक भेटघाट गरिरहेका छन् । पार्टी सभापति पदका आकांक्षी तीनै नेताबीच निर्वाचनसम्बन्धी रणनीतिक सहकार्य र समन्वय भइरहेको भन्ने अड्कलका बीच उनीहरूबीच बाक्लिँदै गरेको भेटघाटले भने बालुवाटारको सकस बढाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आफूपछिका सभापति पदका आकांक्षीहरूबीच कुनै पनि हालतमा सहमति नहुने र अन्ततः तीमध्येका धेरैजसो आफूलाई नै सहयोग गर्ने विश्लेषणका बेला पार्टीका तीन प्रभावशाली नेता निधि, सिँह र कोइरालाबीच सोमबार भएको भेटले संस्थापन खेमामा चिन्ता बढाइदिएको छ ।

तीन नेताबीचको भेटको यो छैटौ श्रृंखला हो । सुरुमा निधि निवासमै भेटेका नेताहरुले त्यसपछि पालैपालो सिंह र कोइराला निवासमा छलफल गरिसकेका छन्।

तर, तीन नेताहरूबीचको पछिल्लो भेट बाँकी रहेका क्रियाशील सदस्यताको टुंगो चाँडो लगाउन नेतृत्वसमक्ष माग गर्ने सहमतिका साथ सकिएको छ । नेताहरु निधि, सिंह र कोइरालाले क्रियाशील सदस्यतासम्बन्धी विवाद छिटोभन्दा छिटो मिलाउन पार्टी सभापति देउवासँग माग गर्ने सहमतिमा त्रिपक्षीय बैठकमा गरेका हुन् ।

क्रियाशील सदस्यताको टुंगो लगाउन ढिलाइ हुँदा राष्ट्रिय महाधिवेशनको कार्यतालिका प्रभावित हुने चिन्ता व्यक्त गर्दै उनीहरुले यसलाई छिटो टुंग्याउन माग गरेका हुन् ।
‘क्रियाशील सदस्यताको टुंगो लगाउन भएको ढिलाइप्रति चिन्ता व्यक्त ग¥यौं,’ बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता निधिले भने, ‘वडा तथा पालिका तहको अधिवेशन प्रभावित भएकाले पनि यसलाई छिटोभन्दा छिटो टुंग्याइयोस् भन्ने हामीहरुको चाहना हो।’

बारा, सप्तरी, रौतहट र रसुवामा अझै क्रियाशील सदस्यता विवाद छ ।

तीन नेताहरुले मन्त्रिपरिषद्लाई पूर्णता दिन भइरहेको ढिलाइप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । सरकार गठनको एक सय दिन पुग्न लाग्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता नदिइएको भन्दै उनले यसले गठबन्धनको विश्वसनीयतामा ह्रास आउन थालेको बताए । ‘मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिला भयो, यति ढिला हुनु भएन, गठबन्धन दलका कारणले ढिलाइ नहोस्,’ उनले भने ।

यस्तै, चौधौं महाधिवेशनमा साझा उम्मेदवारी दिनेबारेमा पनि तीन नेताबीच छलफल भएको थियो । उक्त छलफल सकारात्मक भएको र आगामी दिनमा छलफल जारी राख्ने नेता निधिले बताए ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!