अहिलेका


निमोठिएका नवजात शिशुको प्रादेशिक अस्पतालमा उपचार अझै हुँदै

जनकपुरधाम, ७ असोज

केही समयअघि अचेत अवस्थामा फेला परेका एक नवजात शिशुलाई प्रादेशिक अस्पताल जनकपुरधामले उपचार गर्दै आइरहेको छ ।

धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर २ पुरनदाहा टोलको एउटा पुलमुनि करिब २० दिनअघि भेटिएका नवजात शिशुलाई प्रादेशिक अस्पतालले उपचारसहित हेरचार गर्दै आएको हो ।

इलाका प्रहरी कार्यालय धनुषाधामका इन्चार्ज एवम् प्रहरी निरीक्षक सुरेश ठाकुरले बेवारिस अवस्थामा फेला परेका नवजात शिशुलाई प्रादेशिक अस्पताल पु¥याएका थिए । उनले घटनाका बारेमा जानकारी पाएलगत्तै नवजात शिशु जिउँदो रहेको र थप उपचारको आवश्यकता भएकाले प्रादेशिक अस्पतालमा भर्ना गराएका थिए ।

अस्पतालमा ल्याउदाँसम्म नवजात शिशुको गालामा छाला नै नरहेको र अचेत अवस्थामा फेला परेका तथा रगतका टाटा देखिएको प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोदकुमार यादवले जानकारी दिए । उनले भने, ‘शिशुलाई मारेर फ्याकेको जस्तो देखिन्छ, ।’

उनका अनुसार बच्चालाई ५ दिनपछि फ्याकिएको देखिन्छ भने अहिले बच्चा २५ दिन उमेरको भएको छ ।

अहिले नवजात शिशुको उपचार एनआइसियुमा भइरहेको र स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको र उनी दुधसमेत खान थालेको डा.यादवले बताए । नवजात शिशुको उपचार मेडिकल सुपरिटेन्डेन्ट डा. यादवले आफ्नै निगरानीमा गराइरहेका छन् ।

नवजात शिशुको गालामा प्लास्टिक सर्जरी गर्नुपर्ने आवश्यकता रहको मेसु डा. यादवको भनाइ छ ।

नवजात शिशु पूर्ण रूपमा स्वस्थ भएपछि स्थानीय प्रशासनको समन्वयमा अनाथाश्रमको जिम्मा लगाइने मेसु डा.यादवले बताए ।

यता धनुषा प्रहरीले नवजात शिशुका आमाबुवाको पहिचानका लागि अनुसन्धान जारी राखेको जनाइएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!