अहिलेका


नेकपा(एस) को स्थायी कमिटी सदस्यमा महतो

जनकपुरधाम, ९ असोज । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्यमा जनकपुरक्षेत्रबाट शत्रुधन महतो छनोट भएका छन् । प्रदेश २ सभामा पार्टी संसदीय दलका नेतासमेत रहेका महतो ३५ सदस्यीय स्थायी कमिटी सदस्यमा परेका हुन् ।


नेकपा एमालेभित्र सुरुदेखि नै माधवकुमार नेपाल पक्षधर रहँदै आएका उनी पार्टी राजनीतिमा सुक्ष्म रणनीतिकार र कुशल संगठक मानिन्छन् । उनकै कारणले प्रदेश २ मा नेकपा एमालेबाट निर्वाचित अधिकांश प्रदेशसभा सदस्य नवगठित नेकपा(एकीकृत समाजवादी) रोजेका छन् ।

कम्युनिस्ट पार्टीभित्र निकै महत्वपूर्ण र उपल्लो जिम्मेवारी मानिने स्थायी कमिटीमा विभाजनपूर्वको नेकपा एमालेमा धनुषाका रघुवीर महासेठ पुगेका थिए । पार्टीको राजनीतिक कार्यनीति, रणनीति र कार्यदिशा तय गर्ने तथा तिनको कार्यान्वयन गर्ने जिम्मेवारी रहेको स्थायी कमिटी सदस्यमा कम्युनिस्ट पार्टीभित्र खसआर्यको बाहुल्य र वर्चस्व रहँदै आएको छ । ‘यस्तोमा स्थायी कमिटीभित्र महतोको प्रतिनिधित्व गौरवपूर्ण छ । यसले पार्टीलाई मधेसमा मजबुत हुने बाटो प्रशस्त गर्नेछ,’ एक स्थानीय कम्युनिष्ट नेताले भने ।

जनकपुरधाम क्षेत्रबाटै पार्टीका पोलिटब्युरो सदस्यहरूमा यदुवंश झा, रत्नेश्वर गोइत, श्रीप्रसाद साह र सुधीर साह चयन भएका छन् । ७१ सदस्यीय पोलिटब्युरो सदस्यमा उनीहरू परेका हुन् । गोइत नेकपा एमालेका निकै पुराना नेता हुन् भने झा केन्द्र सरकारमा क्याबिनेट मन्त्री भइसकेका छन् ।

श्रीप्रसाद र सुधीर विद्यार्थी राजनीतिबाटै नेकपा एमालेमा संलग्न भएका जुझारु नेता मानिन्छन् ।

पार्टीको केन्द्रीय समिति तीन सय एक सदस्यीय रहेको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!