जनकपुरधाम, १४ मंसिर ।
काँग्रेसको केन्द्रीय महाधिवेशन नजिकिँदै जाँदा सभापति पदका अवश्यम्भावी प्रत्याशी उपसभापति विमलेन्द्र निधिको स्वर थप प्रखर, प्रवाभशाली र तार्किक हुँदै गएको छ ।
विधिविधान र पार्टी हितसम्मत ढंगले महाधिवेशन हुनुपर्ने पक्षमा पछिल्ला केही समययता निरन्तर अभिव्यक्ति दिँदै आएका नेता निधिका कारण कर्मकान्डी ढंगले महाधिवेश सम्पन्न गराउने पार्टीका केही नेताहरूको मनसुबा संकटमा परेको छ ।
आफ्नो निर्वाचन क्षेत्र र गृहजिल्लामा सर्वसम्मत ढंगले वडादेखि प्रदेश र प्रतिनिधिसभा क्षेत्र स्तरसम्मका कमिटी गठन गराउन विश्वासको वातावरण कायम गर्न सफल निधिले मंगलबार काठमाडौंमा सकारात्मक सन्देश जाने गरी निर्वाचन प्रक्रिया अघि बढाउन आह्वान गरेका छन् ।
उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै केन्द्रीय निर्वाचन समिति संयोजकसहित पाँच सदस्यीय हुने वैधानिक व्यवस्थाअनुरूप निर्वाचन समितिलाई पूर्णता दिन आग्रह गरेका छन् । अहिले काँग्रेसको केन्द्रीय निर्वाचन समिति चार सदस्यीय छ ।
निर्वाचन समितिका एकजनाले राजीनामा दिइसकेका भए पनि चार सदस्यीय निर्वाचन समितिले नै अहिलेसम्म सम्पन्न विभिन्न तहका निर्वाचनसम्बन्धी छिनोफानो गर्दै आएको छ ।
नेता निधिले भने, ‘ चार सदस्यीय निर्वाचन समितिले निर्वाचन प्रक्रियाहरू अगाडि बढाउनु उपयुक्त होइन । चार सदस्यीय निर्वाचन समितिले निर्णयहरू गर्दा नकारात्मक सन्देश जान्छ । तत्काल एकजना सदस्य नियुक्त गर्न सभापतिजीसँग मेरो आग्रह छ ।’
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासमेतका जिल्लाको विवाद साम्य पार्न उनले देखाएको कुशलतापछि काँग्रेस नेतृत्वका लागि उनी सर्वाधिक योग्य र सक्षम नेता भएको टिप्पणी गर्न थालिएको छ ।
