अहिलेका


न्युजिल्यान्ड : आजबाट इच्छामृत्युको कानुन लागु

एजेन्सी
जनकपुरधाम, २१ कात्तिक ।
जीवनको अन्त्य सम्बन्धी विधेयक २०१९ पारित भएसँगै न्युजिल्यान्डमा इन्छामृत्यु कानुनी भएको छ ।

न्युजिल्यान्डको अपराध अधिनियम १९६१ को धारा १९७ ले आत्महत्यालाई बढावा दिने र त्यसो गर्न सहायता गर्ने कामलाई अवैध मानेको छ । यस अधिनियममा आत्महत्याका लागि कसैेलाई उक्साउने, प्रेरित गर्ने र सल्लाह दिने कार्यलाई अपराध मानिएको छ ।

धारा १७९ मा सहायताप्राप्त आत्महत्या र वास्तविक आत्महत्यामा जबर्जस्ती गर्ने दुवै सामेल छन् । यो प्रावधान जीवनको अन्त्य सम्बन्धी विधेयक २०१९ पारित भएकै कारण परिवर्तित हुनेछैन ।मानसिक रूपमा बिरामीहरूका साथ जबर्जस्ती गर्ने कार्यलाई अझै अपराध मानिएको छ ।

कारुणिक मृत्युसम्बन्धी कानुन न्युजिलेन्डको संसद्बाट २०१९ नोभेम्बरमा झिनो मतको अन्तरले पारित भएको थियो । यसबीचमा जनताको मतसंग्रह, तयारी, अदालती निषेधाज्ञा आदिका कारण कानुन लागु गर्न ढिलाइ भएको हो ।

कानुन आजबाटै लागु हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसअघि विवादास्पद किताब द पिसफुल पिल हयान्डबुकलाई प्रतिबन्धित गरिएको थियो । जसमा इच्छामृत्युका उपायहरू उल्लेख छन् । मई २००८ मा भने त्यस किताबलाई अठार वर्षभन्दा माथिका पाठकलाई केही वर्जनाका साथ बिक्रीवितरण गर्न अनुमति दिइएको थियो ।

न्युजिल्यान्डको मेडिकल एशोसिएसनले स्वेच्छिक मृत्युको विरोध गरेको छ । उसले बिरामी वा उनका आफन्तकै सहमतिमा भए पनि चिकित्सकको सहयोगमा हुने आत्महत्या चिकित्सकमाथि बोझ हुने बताउँदै आएको छ । ‘यो बोझ हाल्ने काम अनैतिक हो,’ एसोसिएसनले भनेको छ ।

सन् २००३ मा मेसी विश्वविद्यालयले गरेको एक सर्वेक्षणमा ७३ प्रतिशतले चिकित्सकको सहायताप्राप्त आत्महत्यालाई वैध गर्ने पक्षमा मत प्रकट गरेका थिए । तर, सोही सर्वेमा अन्य व्यक्तिको सहायतामा गरिने आत्महत्याका पक्षमा ४९ प्रतिशतले मत दिएका थिए ।

सर्वेक्षणको प्रश्न थियो, ‘मानौं कुनै व्यक्तिलाई निको हुन नसक्ने पीडादायक रोग लागेको छ भने के तपाईंलाई लाग्दैन कि चिकित्सकलाई उनको जीवन समाप्त गर्ने कानुनी अनुमति हुनुपर्छ यदि रोगी त्यसका लागि आग्रह गर्दछन् ।’


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!