अहिलेका


‘न्हु दँया भिन्तुना’ भित्र हराएको विद्रोही आवाज

‘न्हु दँया भिन्तुना’ आन्दोलनको ‘विचार’ थियो, विद्रोहको ‘फिलुङ्गो’ थियो 

जयप्रकाश गुप्ता
समयले आन्दोलनहरूको तानाबानालाई धुजाधुजा पार्दछ । मधेस आन्दोलन अहिले सत्ताको नदीमा पौडिँदै गरेको कागजको नाउजस्तो भएको छ । आदिवासी जनजाति आन्दोलन वर्षमा एकपटक साकेला–लोसारका दिन टुँडिखेलमा देखिन्छ । यसका अभियन्ताहरू एमाले ठिक कि माओवादी भन्ने बित्था बहसमा दिन खर्चिइरहेका छन् ।

दलित आन्दोलनको उपस्थिति ‘संयुक्त राष्ट्रसंघ विभेदविरूद्धको दिवस’ का दिन सेमिनारहरूमा रहन्छ । काठमाण्डू मण्डलबाट सुरू भएको सायद नेपालकै सबभन्दा सशक्त पहिचानको आन्दोलन अहिले पूर्णतः ‘न्हु दँया भिन्तुना’ मा अल्पपरिभाषित भएको छ ।

जयप्रकाश प्रसाद गुप्ता

यसले गौतम बुद्धको मुखाकृतिमा एउटा ‘मिथ’ लाई प्रतीक बनाएर सालाना उत्सवमा रूपान्तरित भएको छ । यहाँ अब प्राध्यापक मानिकलाल प्रधान, पद्मरत्न तुलाधर, प्राध्यापक. कमलप्रकाश मल्ल, मल्ल के. सुन्दरहरूको शंखनाद सुनिन्न ।

भिन्तुना आन्दोलनको गर्भमा रहेको विद्रोही आवाजलाई नायकहरूले अहिले डिजिटल संसारको ‘अडियो अर्काइभ’ मा राखेर शताब्दी पुरूषको जीर्ण काँधमा खादाको भार थपिरहेको पाइन्छ ।

नेपाल संवतको अभियान काठमाण्डूबाट जन्मेको प्रजातान्त्रिक आन्दोलनको सहयात्री थियो । पहिचानको खोजी तथा त्यस बखत अदृश्यझैं रहेको संघात्मक शासनको मागको आधारभूमि तयार गरिरह्यो यस आन्दोलनले ।

नेपाल संवतको अभियान काठमाण्डूबाट जन्मेको प्रजातान्त्रिक आन्दोलनको सहयात्री थियो । पहिचानको खोजी तथा त्यस बखत अदृश्यझैं रहेको संघात्मक शासनको मागको आधारभूमि तयार गरिरह्यो यस आन्दोलनले ।

राजतन्त्र, संसारमा जहाँको होस–त्यसले एउटा धर्म, एक भाषा र पहिरन तथा खास स्वार्थ भएकाहरूको सम्वद्र्धन गर्ने शासन व्यवस्था बोकेको हुन्छ ।

नयाँ वर्षका रूपमा विक्रमी सम्वतको सट्टा नेपाल सम्वत, ठेठ नेवारी बोलीमा विद्रोही आवाजको अभिव्यक्ति, राजकीय लवेदा सुरूवालको ठाँउमा भादगाँउले महिला पुरूषको पहिरन र राजाले गरेको भुइँफुट्टा वर्गको विकासलाई चुनौती दिन काठमाण्डूका सडकहरूमा निस्कने खर्पन बोकेकाहरूको जुलुस वास्तवमा ‘न्हु दँया भिन्तुना’ आन्दोलनको ‘विचार’ थियो, विद्रोहको ‘फिलुङ्गो’ थियो ।

पञ्चायती एकात्मवादी राज्यव्यवस्थाको केन्द्र राजदरबार र अनुचर सिंहदरबारलाई यसले दशकौंसम्म दिएको धक्का बिर्सन सकिन्न ।

आज त्यो अवस्था छैन । बुढानीलकण्ठको दर्शनझैं वर्जित थियो राजदरबारका लागि ‘भिन्तुना’ मा शुभकामना दिनु । आज फालिएका राजाको ‘इन्द्रजात्रा’ मा उपस्थिति देखिन्छ–यो काठमांडूमा ।

यो ओरालोपन एक्लो काठमाण्डूको होइन, मधेसी–जनजाति सबैतिर देखिन्छ । आज ‘न्हु दँया भिन्तुना’ मानाइँदैछ । राजनीति निरपेक्ष रूपमा । मिथकलाई स्थापित गराउने मागको परम्परा निर्वाह गरेर ।

तर, यो आन्दोलन थियो अतीतको, जसले मुलुकलाई प्रजान्त्रिकीकरण गर्नका लागि पूरक थियो । जातीय, भाषिक, क्षेत्रीय र सामुदायिक पहिचानको जग बनाएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनको समग्र अध्ययन यसले दिएको शक्तिको अनदेखा गरेर पुरा हुँदैन ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!