अहिलेका


पत्रकारिता क्षेत्रको विकासका लागि प्रतिबद्ध छु : मन्त्री साह

जनकपुरधाम, ११ कात्तिक ।

प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रदेशमा पत्रकारिता फाँटको विकास तथा पत्रकारहरूका वृत्ति विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मन्त्री साहले प्रेस सेन्टर नेपाल धनुषाको तेस्रो जिल्ला अधिवेशनको आज जनकपुरधाममा उद्घाटन गर्दै नेपालका हरेक परिवर्तनमा सञ्चारकर्मी तथा सञ्चारजगतले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

उनले पत्रकारिता क्षेत्र जहिले पनि उत्पीडित, उपेक्षित र बहिष्कृत समुदायको हितपोषण गर्ने गरेको भन्दै समानता र सामाजिक न्याय प्राप्तिका लागि सञ्चारक्षेत्रको योगदानको सराहना गरे । उनले सामाजिक रूपान्तरणका पक्षमा कलम चलाउने पत्रकारका क्षमता विकासका प्रदेश सरकार सदैव तयार रहेको उल्लेख गरे ।

मन्त्री साहले विभिन्न आन्दोलन र विद्रोहबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि पत्रकारिता क्षेत्रले अग्रसरता लिनुपर्ने बताउँदै प्रदेश सरकारका कमीकमजोरी र त्रुटि आंैल्याएर सरकारका कामकाजलाई प्रभावकारी बनाउन मद्दत गर्न सञ्चारकर्मीहरूसँग आग्रह गरे ।

उनले प्रदेशको मिडिया काउन्सिललाई सक्रिय बनाउनका लागि काउन्सिलमा वरिष्ठ पत्रकारहरूको उपस्थिति आवश्यक भएकाले नै पत्रकारिता क्षेत्रमा लामो अनुभव बोकेका व्यक्तिलाई ल्याउने पक्षमा आफू रहेको बताए ।

प्रेस सेन्टर नेपाल धनुषाका अध्यक्ष शैलेन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र धनुषाका सचिव दिवक यादव, सेन्टरका प्रदेश अध्यक्ष किरण कर्ण, केन्द्रीय सदस्य दीपेन्द्र सिंह, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झा, वरिष्ठ पत्रकार विएम खनालले पत्रकारिता क्षेत्रसँग जोडिएका विषयमा विभिन्न सुझाव दिएका थिए ।

कार्यक्रममा मन्त्री साहले वरिष्ठ पत्रकार बिएम खनाल, शैलेन्द्र महतो क्रान्ति, किरण कर्ण, दीपेन्द्र सिंह, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झा लगायतलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!