जनकपुरधाम, ९ कात्तिक ।
गृह मन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा आदि भाडामा नदिन आग्रह गरेको छ ।
मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएकालाई कामकाजमा समेत नलगाउन भनेको छ ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा पहिचान नखुलेका विदेशी नागरिक देखिए वा भेटिएमा नजिकका प्रहरी चौकीमा खबर गरी सहयोग गर्न समेत आह्वान गरेको छ ।
मन्त्रालयले विज्ञप्तिमार्फत पछिल्ला केही दिनका घटनाहरूबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनाधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएकाले सो आग्रह गर्नुपरेको उल्लेख गरेको छ ।
