प्रशोधक
जनकपुरधाम, ४ पुस ।
धनुषाको मिथिला नगरपालिका– ६ स्थित ढल्केवरबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीको टोलीले शनिबार राति सेतो रंगको स्कार्पियो गाडीमा ओसारपसार हुँदै गरेको साढे १९ किलोग्राम गाजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको विहार राज्यस्थित मधुबनी जिल्ला खिरहर ग्राम पञ्चायत ४ बस्ने रामदीप महतोका छोरा २२ वर्षीय विजयकुमार रहेका छन् ।
वर्दिवासबाट ढल्केवर हुँदै जनकपुरतर्फ जाँदै गरेको बि.आर.३२.९१२७ नम्बरको भारतीय स्कार्पियो गाडीमा सवार पाँचजनाले गाजा ओसार्दै गरेको सूचनाका आधारमा प्रहरी टोलीले गाजा बारमद भएको छ ।
प्रहरीले गाडी जाँच गर्ने गरिरहँदा ओसारपसारमा संलग्न हुनेहरूले गाडीबाट चारवटा पोको फाली भाग्न खोज्दा केही दुरीमा पुगेर स्कार्पियो दुर्घटनामा परेको थियो ।
पक्राउ परेका महतोलाई बरामद भएको गाजासहित इलाका प्रहरी कार्यालय ढल्केवरमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाजा ओसारपसारमा प्रयोग गरिएको स्कार्पियो गाडी पनि प्रहरी नियन्त्रणमै छ ।
