प्रशोधक समाचारदाता
जलेश्वर, कात्तिक ३० गते ।
महोत्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शरतसिँह भण्डारीले तत्कालीन केपी ओली सरकारद्वारा संघीय गणतन्त्रात्मक संविधानको भावना र मर्मविपरीत दुईपटक गरिएको प्रतिनिधिसभाको असंवैधानिक विघटन र त्यो सरकारको अनेकन् स्वेच्छाचारी कदमका विरुद्ध पाँचदलीय गठबन्धन बनेको र आसन्न निर्वाचनमा गठबन्धनको जित सुनिश्चित रहेको बताएका छन् ।
पाँचदलीय गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका प्रतिनिधिसभा उम्मेदवार भण्डारीले नेकपा एमाले र जनता समाजवादी पार्टीबीचको चुनावी गठबन्धनको साझा र प्रस्ट वैचारिक धरातल नभएको तर्क गर्दै अवसरवादका आधारमा भएको चुनावी तालमेललाई मतदाताले अस्वीकार गर्ने प्रस्ट्याए ।
उनले भने, ‘सिद्धान्तहीन र विचारविहीन एमाले–जसपा गठबन्धन अस्वीकृत भइसकेको छ । अब अस्वीकृतिको अनुमोदन मंसिर ४ को मतदानबाट हुनेछ ।’
देशमा लोकतन्त्र र संघीयताको घाँटी निमोठ्ने तथा सदैवका लागि अस्थिरता र अन्योलतर्फ धकेल्दै द्वन्द्वमा अल्झाउने तत्कालीन ओली सरकारको क्रियाकलाप प्रस्ट भइसकेकाले जनता लोसपासहितको संघीय गठबन्धनका पक्षमा मतदान गर्ने उनले दोहोर्याए ।
अहिले आवश्यक्ता संघ, प्रदेश र स्थानीय तहमा स्थिर र बलिया सरकार गठनमार्फत जनआकांक्षा पुरा गर्ने रहेको भन्दै आसन्न निर्वाचनपछि पाँचदलीय गठबन्धन सरकारले आलटाल र ढिलासुस्ती नगरी जनताका समृद्धिको चाहना पुरा गर्नेतर्फ केन्द्रित हुने पनि भण्डारीले उल्लेख गरे ।
क्षेत्रमा मत माग्न घरदैलौ गर्ने क्रममा नेता भण्डारीले गत पाँच वर्षमा महोत्तरी क्षेत्र नम्बर २ को सर्वपक्षीय विकासका काम अघि बढेको र त्यसबाट जनता क्रमिक रूपमा प्रतिफल पाइरहेको बताए ।
उनले भने, ‘क्षेत्रका जनतालाई जुनसुकै कामका लागि बर्दिवास र जलेश्वरका बाटा भएर अन्यत्र जाने दुःख सकिएको छ । आज यहाँका बासिन्दा जुनसुकै ठाउँमा जान सक्नेगरी सडक सञ्जाल विकसित भएको छ ।’
क्षेत्रमा पूर्वाधार विकास, कृषि, सिँचाइ आदि क्षेत्रमा उल्लेख्य प्रगति भएको र बाँकी कामहरूका लागि प्रक्रिया अघि बढिसकेको पनि भण्डारीले बताए ।
महोत्तरी क्षेत्र नम्बर २ मा भण्डारीसँग एमाले–जसपा गठबन्धका डा.रामपरीक्षण यादव र तमसपा नेपालका वरिष्ठ नेता डा.विजयकुमार सिँह मुख्य प्रतिस्पर्धीका रूपमा देखा परेका छन् ।
भण्डारीलाई यस क्षेत्रमा गत पाँच वर्षमा विकास निर्माणका काम गराई क्षेत्रको मुहार परिवर्तन गर्ने श्रेय प्राप्त छ ।
