जनकपुरधाम, १९ कात्तिक ।
जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओलीसत्ताको पतनबाट मधेसको स्वाभिमान र सम्मानको रक्षा भएको बताएका छन् । उनले देशमा पाँचदलीय गठबन्धन सरकार बनेसँगै लोकतन्त्र र समावेशिता जोगिएको दाबी गरे ।
सप्तरीका राजगढ गाउँपालिका र विष्णुपुर गाउँपालिकास्थित पार्टी एकाइद्वारा संयुक्त रूपमा आयोजित वृहत् पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष यादवले ओलीको जालमा सन्त महन्थ सजिलै फसेको आरोप लगाए ।
उनले भने, ‘ओलीको जालमा परेर कोही १३ दिन, कोही १२ दिन त कोही १० दिन मन्त्री बने ।’
प्रतिगमन र अधिनायकवादी ओलीतन्त्रलाई परास्त गर्ने पार्टी जसपा नेपाल भएको उल्लेख गर्दै उनले महन्थ ठाकुरहरू ओलीको शरणमा गएर प्रतिगमनको मतियार बनेको बताए ।

अध्यक्ष यादवले सात प्रदेशमध्ये प्रदेश २ मा मात्रै जसपाको सरकार रहेको र अन्य प्रदेशमा रहेका ओलीको पार्टीका सरकार ‘दम’ तोडिसकेको भन्दैे आगामी दिनमा पाँचवटा प्रदेश सरकारमा जसपा नेपालको सहभागिता रहने जानकारी दिए ।
उनले जसपा नेपाल वैकल्पिक राजनीतिक शक्ति भएको दोहोर्याउँदै पार्टीले परिवर्तन गर्न सक्ने र परिवर्तनलाई संस्थागत गर्न सक्ने जिकिर गरे ।
कार्यक्रममामा पार्टी नेता एवम् राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, राजकिशोर यादव, सप्तरी जिल्ला अध्यक्ष केदारप्रसाद यादव, नेत्री मीरा यादवसमेतको उपस्थिति थियो ।
