जनकपुरधाम, ५ मंसिर ।
प्रदेश २ मा नेकपा(एस) सहभागी हुँदा उद्योग, पर्यटन र वन राज्यमन्त्री बन्ने पक्कापक्की भएको भनिएका प्रदेशसभा सदस्य नागेन्द्र राय यादव पार्टीका दुई मन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार जनकपुर आउँदैछन् ।
रौतहटको चन्द्रपुरबाट प्रादेशिक राजधानी जनकपुरतर्फ किहान हिँडेका उनी केही बेरअघिमात्र लालबन्दी कट्दै थिए । नवनयिुक्त उद्योग, पर्यटन र वन मन्त्री शत्रुधन महतोलाई घरिघरि फोन लगाइरहँदा पनि सम्पर्क गर्न नसकिएको अवस्थामा उनी शपथग्रहण समारोहमा आउन लागेका हुन् ।
निर्धारित समयमा शपथग्रहण सकिए उनी त्यस कार्यक्रममा सहभागी हुन पाउँदैनन् । अझ मन्त्रीहरूको कार्यभार सम्हाल्ने बेलामा पनि बधाई र शुभकामना दिनबाट वञ्चित हुनेछन् ।
दुई दिनअघि प्रदेश सरकारमा राज्यमन्त्री बन्ने खबर पाएपछि आफन्तहरूबाट तारन्तार बधाई र शुभकामना पाएका प्रदेशसभा सदस्य नागेन्द्रलाई भने राज्यमन्त्री नियुक्त हुनेबारेमा अहिले पार्टी वा मुख्यमन्त्री कार्यालयबाट औपचारिक जानकारी प्राप्त भएको छैन ।
दुई दिनअघि भने पार्टीका प्रदेश २ इन्चार्ज धर्मनाथ साह र अध्यक्ष रामचन्द्र यादवले प्रदेश सरकारमा राज्यमन्त्रीका रूपमा पठाउने निर्णय भएको बारे आफूलाई जानकारी गराएको प्रदेशसभा सदस्य नागेन्द्रले बताए ।
उनले क्याबिनेट मन्त्रीले शपथ लिएको पाँच दिनपछि मात्र आफूलाई राज्यमन्त्रीका रूपमा शपथग्रहण गराइने पनि पार्टीका इन्चार्ज र अध्यक्षले जनाएको उल्लेख गरे ।
