काठमाडौं, ११ कात्तिक ।
नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले वागमती प्रदेशको मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज बिहीबार दिउँसो प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाडेलाई मुख्यमन्त्री पदको शपथग्रहण गराएका हुन् । पाण्डे वागमती प्रदेशका तेस्रो मुख्यमन्त्री भएका छन् ।
मुख्यमन्त्री पाण्डेले पाँचदलीय गठबन्धनको सहमतिअनुसार आजै तीन मन्त्री नियुक्त गर्दै चार सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् ।
उनले नेकपा (माओवादी) केन्द्रकी कुमारी मोक्तानलाई सामाजिक विकास, नेपाली काँग्रेसका कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास र नेकपा (एस) का कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गरेका छन् ।
नवनियुक्त मन्त्रीहरूले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
