अहिलेका


पानीको बोतलमा पेट्रोल बिक्री ‘चुटकी’ मा बन्द हुन्छ : धनुषा सिडिओ

प्रशोधक समाचारदाता / जनकपुरधाम, २ चैत ।
पेट्रोलियम पदार्थको अधिकृत विक्रेता नेपाल आयल निगमले आधिकारिक विक्रेताबाट मात्र इन्धन खरिद गर्न आग्रह गर्दै आएको छ । अझ अनाधिकृत ढंगले इन्धन विक्रीवितरण भए नजिकको प्रहरीलाई सम्पर्क गर्न सुझाव पनि निगमको छ ।

तर, निगमले धनुषाका सहरीक्षेत्र तथा गाउँघरका चोकबजार, गल्ली, कुनाकाप्चामा अनाधिकृत तथा खुलेआम भइरहेको पेट्रोल तथा डिजल विक्रीवितरणमा रोक लगाउन सकेको छैन । निगमका आधिकारिक विक्रेताहरूले नै खुलामा बेच्ने प्रयोजनका लागि खुद्रा व्यापारीहरूलाई पेट्रोल तथा डिजल उपलब्ध गराउने गर्छन् ।

सांकेतिक तस्बिर

बाटाघाटाको विस्तार, सवारीसाधनको सँख्यावृद्धि र कृषि प्रणालीमा यान्त्रिक उपकरणहरूको बढ्दो प्रयोगका कारण पछिल्ला समयमा इन्धनको खपत बढेको छ । मानिसहरू पनि महँगो र कमसल भए पनि नजिकका ठाउँबाट इन्धनको जोहो गर्ने सुविस्ता खोजिरहेका हुन्छन् । जसले गर्दा पान पसलदेखि किराना पसल र अझ औषधि पसलसमेतमा पेट्रोल तथा डिजल छयाप्छयाप्ती पाइन्छ ।

निगमको आधिकारिक विक्रेताबाट ग्यालनमा ल्याउने र प्रशोधित पिउनेपानीको बोतलमा भरेर पेट्रोल विक्री गर्ने गरिएको छ भने ग्यालन र अन्य प्लास्टिकका भाँडामा डिजल बेच्ने काम भइरहेको छ ।

इन्धनको खुला बिक्रीवितरण सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील मानिए पनि यसलाई नियन्त्रण गर्न सरोकारवालाहरूको गम्भीर ध्यानाकृष्ट हुन सकेको छैन । ‘चुरोटबिँडी पाइने पान पसलमा पेट्रोल भरिएका बोतल अघिल्तिर राखिएका हुन्छन् । ग्राहक त्यहीँ चुरोटबिँडी सल्काउँछन्, त्यसो नगर्न भन्ने कोही हुँदैनन्,’ जिल्लाको हँसपुर नगरपालिकाका श्याम कापरीले भने ।

कापरीका अनुसार जनकपुरधामबाट ग्रामीण क्षेत्रमा जाने हरेक चौराहाका पसलमा बोतलमा भरिएका पेट्रोल सजिलै पाइन्छ । तर, खुला पेट्रोलको दाम भने आधिकारिक विक्रेताभन्दा महँगो हुन्छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पेट्रोलको विक्रीवितरण गर्न सरोकारवाला सबैले चाहेमा ‘चुटकी’ मा हुने बताए । उनले आयल निगम वा निगमका आधिकारिक विक्रेताहरूले पहल गरे पेट्रोलको खुला विक्री रोक्न प्रशासनले सघाउने जानकारी दिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!