काठमाडौं, २५ कात्तिक ।
नेपाल आयल निगमले १२ दिनको अन्तरालमा पेट्रोलियम पदार्थमा गरेको अस्वाभाविक र अनुचित मूल्यवृद्धिको विरोधमा छवटा विद्यार्थी संगठनले सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् ।
छवटा संगठनले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै कात्तिक २५ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाउने, भोलि कात्तिक २६ गते बिहान ९ बजेदेखि ११ बजेसम्म आयल निगमका महाप्रबन्धकलगायत कर्मचारीलाई प्रवेश निषेध तथा घेराउ, कात्तिक २८ गते प्रदर्शनीमार्गमा दिउँसो २ बजे खाली सिलिन्डर प्रदर्शन र मंसिर ५ गते दिउँसो २ बजे सडक बहसलगायत कार्यक्रम तय गरिएको जनाएका छन् ।
१२ दिनको अन्तरालमा पेट्रोलमा तीन रुपैयाँ, मट्टितेलमा तीन रुपैयाँ, हवाई ईन्धनमा पाँच रुपैयाँ, एलपी ग्यासमा ७५ रुपैयाँ मूल्यवृद्धि गरी जनताका आधारभूत आवश्यकताप्रति गैरजिम्मेवार बनेको ती विद्यार्थी संगठनको आरोप छ ।
मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाई आयल निगमलगायतका सरकारी निकायले चुहावट नियन्त्रण नगरी जनताका आवश्यकतासँग प्रत्यक्ष रूपमा गाँसिएका वस्तुमा मूल्यवृद्धि गर्दै आफ्ना निकाय र भ्रष्ट कर्मचारीको मनोमानीलाई लुकाउन निरन्तर घाटामा देखाको भन्दै केवल नाफा निकाल्ने उद्देश्य राखी पटकपटक मूल्यवृद्धि गर्ने कदमको छवटै संगठनले खेद व्यक्तसमेत गरेका छन् ।
विज्ञप्तिमा अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिँह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, अखिल छैंटौंका अध्यक्ष देवेन्द्र कुँवरले हस्ताक्षर गरेका छन् ।
