अहिलेका


प्रचण्डको जसपालाई पार्टी एकता गर्ने आह्वान ‘पोलिटिकल स्टंट’ !

प्रचण्डको जसपालाई पार्टी एकता गर्ने आह्वान ‘पोलिटिकल स्टंट’ शनिबार जनकपुर विमानस्थलमा मैले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई एउटा प्रश्न गरेँ । त्यो प्रश्न गरिरहँदा अनायास स्वरचाहिँ रुखो भयो ।

मेरो प्रश्न थियो कि पाँचदलीय सत्ता गठबन्धनको स्वाथ्य राम्रो देखिँदैन नि ? प्रचण्डले धेरैवटा विषयवस्तुमा साझा धारणा बनाउन गठबन्धन बैठक बस्न ढिलाइ भइरहेको तर गठबन्धन ‘स्मुथली’ चलिरहेको दाबी गरे ।

अनिलकुमार कर्ण

प्रचण्डले जनकपुरको भूमि टेकेकै बेला विराटनगरमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधबकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाभियोग लगाउने छाँट नरहेको जनाउ दिइरहेका थिए । यता प्रचण्डले भने त्यससम्बन्धी प्रश्न छल्दै समस्या समाधान हुनेगरी गठबन्धन बैठकले निर्णय गर्ने बताए ।

गठबन्धनका अर्का नेता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव काठमाडौंमा काँग्रेससँग सहकार्य गर्न कठिन रहेको बिलौना गर्दै थिए । यावत् कुराले के प्रस्ट छ भने गठबन्धनको स्वास्थ्यस्थिति सामान्य छैन ।

केपी ओलीको ‘अहंकार र प्रतिगमन’विरुद्ध लडेका र अन्ततः जित हासिल गरेका पाँच दलबीच एकअर्काप्रति विश्वास र भरोसा छैन । विषयवस्तुको बुझाइमा भिन्नता छ । कार्यान्वयनका कुरामा पृथक् अडान र दृढता छन् ।

नवगठित लोसपा नेपालका वरिष्ठ नेता शरत्सिँह भण्डारीले गठबन्धन सरकारलाई ‘जोगाड’ को सरकारका रूपका अथ्र्याइरहेका बेला गठबन्धनका घटक दलहरूबीच विमतिका स्वरहरू चर्का हुँदै गएका छन् ।

एकअर्काप्रति असन्तुष्टि र क्षोभका भाव सतहमा आउन थालेको अवस्था छ । यसले सशक्त र प्रभावकारी ढंगले सडक आन्दोलनमा सहकार्य गरेका पाँच दलबीचको सत्ता गठबन्धनको आयु संसदीय निर्वाचनसम्म नजाने अनुमान गर्न सकिन्छ ।

पार्टीको प्रभाव विस्तारका नाममा एकअर्काका नेताकार्यकर्ता भित्र्याइरहेका गठबन्धनभित्रका दलहरू गठबन्धनबाहिर रहेर वा चुनावी गठबन्धनका नाममा मनपेट मिल्नेसँग ध्रुवीकृत भएर अघि बढ्न सक्ने स्थिति पनि छ ।

समयपूर्व आम निर्वाचनको परिकल्पना संविधानले गरेको छैन । तर, प्रतिनिधिसभा विघटन र नयाँ जनादेश लिन संसदीय निर्वाचनको घोषणा गर्ने काम सरकार प्रमुखले गर्नबाट बन्देज छैन । गठबन्धन दलहरू विश्वासको संकट गहिरिँदैे जाँदा यस्तो नहोला भन्न सकिँदैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाका लागि अहिले सत्ताको महत्व भनेको काँग्रेस महाधिवेशनसम्मका लागि हो । महाधिवेशन सकिएपछि उनले पनि टालटुलको सरकार सञ्चालन गर्नुभन्दा कम्युनिस्टहरू विभाजित भएका बेला जनताबाट अनुमोदित हुन निर्वाचनकै बाटोमा जानेछन् ।

यसबीचमा शनिबार नै प्रचण्डले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता महिन्द्र यादवलाई नाउँ नै तोकेर पार्टी एकता गर्ने आह्वान गरेका छन् । कुनै अनुकूल र सहज समयमा माओवादी र जसपाबीच एकता हुन सक्ने र यसको पृष्ठभूमि दुवै दलका नेताहरूबीचको सैद्धान्तिक तथा राजनीतिक पाठशालामा समानता र निकटता भएको आरोप लाग्दै आएको थियो ।

खासगरी महन्थ ठाकुरको अगुवाइमा जसपा नेपालबाट बाहिरिएका नेताहरूले उपेन्द्र यादवको समाजवादलाई साम्यवादउन्मुख बताउँदै आएका थिए र छन् । प्रचण्डको जसपासँग पार्टी एकता गर्ने अहिलेको आह्वान गठबन्धनभित्र बलियो र निर्णायक बन्ने आकांक्षाबाट प्रेरित हुन सक्छ ।

उनले एकता प्रक्रियाबाट क्षेत्रीय पार्टीलाई राष्ट्रिय जनाधारको दलमा रूपान्तरण गर्न भनेका छन् । यसबाट मधेसी मताधार मजबुत हुने उनको विश्लेषण छ । झट्ट हेर्दा यो एउटा ‘पोलिटिकल स्टंट’ मात्र हो । यस्तो सम्भावनाका नाममा जसपाकै नेता र कार्यकर्ता सोहोर्ने प्रचण्ड रणनीति ।

केही समयअघि मैले उपेन्द्र यादवको अन्तर्वार्ता गरेको थिएँ । कुराकानीमा उपेन्द्रले आफूहरू कम्युनिस्ट पार्टी नभएको र समाजवादी लोकतान्त्रिक पार्टी भएको भन्दै गठबन्धनका दलहरू कम्युनिस्ट विचारधारा त्याग गरेर आएमा मात्र मिल्न सक्ने बताएका थिए । उनले मुद्दाका आधारमा गठबन्धन गर्न सकिने प्रस्टोक्ति दिएका थिए ।

यसले प्रचण्डको अभिव्यक्तिमा काँग्रेसबाट चिढिएका र माधवकुमार नेपालसँग मिल्न सक्ने सम्भावना तत्काल नरहेको जसपासँग चुनावी गठबन्धन गर्नु नै हो भन्ने देखिन्छ । पार्टी एकताको वृहत् जाल फ्याकेर चुनावी तालमेलसम्मको उद्देश्यबाट निर्देशित प्रचण्डको एकता प्रस्ताव हो भन्नु अत्युक्ति हुँदैन ।

तर, यस विषयमा जसपा सुप्रिमो उपेन्द्र यादवको तत्काल प्रस्टोक्ति आएन भने जसपाको ‘लोकतान्त्रिक समाजवादी’ लाइन संदिग्ध बन्न सक्छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!